काठमाडौं। राइड–सेयरिङ सेवा याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक, यात्रु तथा कूरियरका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गरेको घोषणा गरेको छ। यो बीमा सुविधा मार्च ३ देखि याङ्गो एपमार्फत हुने प्रत्येक राइडमा स्वतः लागू हुनेछ। प्रत्येक राइडमा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा कभरेज उपलब्ध हुने कम्पनीले जनाएकाे छ।
बीमा सेवा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ भने खल्ती सुरक्षा (Khalti Suraksha) ले सहकार्य गरेको छ। चालकले राइड स्वीकार गरेपछि बीमा लागू हुने र यात्रुको हकमा पिकअपदेखि ड्रपसम्म कभरेज रहने कम्पनीले जनाएको छ। साथै, डेलिभरी अर्डर पुरा गर्ने कूरियर पार्टनरहरूमा पनि यो सुविधा लागू हुनेछ।
दुर्घटना भएमा ३० दिनभित्र आवश्यक कागजात (जस्तै मेडिकल रिपोर्ट, बिल तथा सडक दुर्घटनाको हकमा प्रहरी प्रतिवेदन) सहित युनाइटेड अजोड इन्स्योरेन्समा दाबी पेश गर्न सकिनेछ। सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्यदिनभित्र भुक्तानी गरिने व्यवस्था गरिएको छ।
याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भने, “हाम्रा पार्टनर चालक, कूरियर र यात्रुहरूको सुरक्षा तथा हित हाम्रो प्रमुख प्राथमिकता हो। निःशुल्क इन–राइड बीमा सुरु गरेर हामी सबैलाई अझ सुरक्षित र ढुक्क भएर यात्रा गर्न सहयोग पुर्याइरहेका छौं।”
कम्पनीका अनुसार यो सुविधा प्रयोगकर्ता, चालक र कूरियरलाई कुनै अतिरिक्त शुल्क नलिई प्रदान गरिएको हो। नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको राइड–हेलिङ बजारमा सुरक्षा र विश्वसनीयता महत्वपूर्ण बन्दै गइरहेको अवस्थामा यो कार्यक्रमले याङ्गो राइडलाई थप भरोसायोग्य सेवा प्रदायकका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज