शीर्षकहरू

प्रत्यक्ष बीमापछि हुलदंगा तथा आतंकवाद पुनर्बीमा कमिसन घट्यो

प्रत्यक्ष बीमापछि हुलदंगा तथा आतंकवाद पुनर्बीमा कमिसन घट्यो

काठमाडौं । जेनजी आन्दोलनपछि ठूलो क्षति व्यहोरेको नेपाल पुनर्बीमा कम्पनीले दंगा, हड्ताल, तोडफोड तथा आतंकवादबाट हुन सक्ने नोक्सानी (आरएसएमडीएसटी) बीमाको कमिसन शुल्क घटाएको छ । कम्पनीले सबै बीमा कम्पनीहरुलाई पत्राचार गरी हुलदंगा तथा आतंकवाद बीमाको कमिसन शुल्क ३० प्रतिशतले घटाएको जानकारी गराएको छ।

यसअघि कम्पनीले हुलदंगा तथा आतंकवाद बीमामा बीमा कम्पनीहरुलाई ५० प्रतिशत कमिसन दिँदै आएको थियो । जेनजी आन्दोलनका कारण कम्पनीमा धेरै दाबी परेपछि आगामी वर्षका लागि कमिसन घटाएर २० प्रतिशत कायम गरिएको हो । नेपाल पुनर्बीमा कम्पनीले कमिसन घटाएपछि नेपाली बीमा कम्पनीहरु भने रुष्ट भएका छन्।

नेपाल बीमा प्राधिकरणले हुलदंगा तथा आतंकवाद बीमा अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनी मै गर्नुपर्ने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुले बीमांक रकम बराबरको हुलदंगा तथा आतंकवाद बीमाको पुनर्बीमा पनि सोही कम्पनीमै गर्नुपर्नेछ । जेनजी आन्दोलनका क्रममा क्षति भएका सबै सम्पत्तिको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नै गरिएकाले कम्पनीले ठूलो भुक्तानी गर्नुपरेको हो।

नेपाल पुनर्बीमा कम्पनीले हुलदंगा तथा आतंकवाद बीमाको बीमाशुल्क बढाउने तयारी पनि गरेको छ । यसका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणलाई आग्रह गरेको छ। तर प्राधिकरणले बीमाशुल्क बढाउनका लागि पहल नगरेको कम्पनीको गुनासो छ।

‘हामीले प्राधिकरणलाई पत्राचार गरी हुलदंगाको बीमाशुल्क बढाइदिन भनेका छौं । बीमाशुल्क बढाइयो भने कम्पनीले अहिले भोग्नुपरेको क्षति आगामी पाँच वर्षमा कभर हुन्छ भन्ने हाम्रो अनुमान छ । तर प्राधिकरणले भने वास्ता गरेन,’ उनले भने।

बीमाशुल्क वृद्धि नभएपछि कम्पनीले कमिसन घटाएर जेनजी आन्दोलनका कारण व्यहोर्नु परेको क्षति कम गर्ने प्रयास गरेको उनले बताए। ‘५० प्रतिशत कमिसन आफैमा ठूलो हो। प्राप्त हुने बीमाशुल्कको आधा नै कमिसन दिनुपर्छ। आधा मात्रै शुल्क राखिएकै कारण ठूलो दाबी पर्दा कम्पनीलाई अप्ठेरो परेको हो,’ उनले भने।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा कम्पनीहरुमा २३ अर्ब ७७ करोड २८ लाख रुपैयाँ दाबी परेको थियो। गत माघ ५ गतेसम्म कम्पनीहरुमा ३ हजार ३३४ वटा दाबी परेको थियो। कम्पनीहरुले ५ अर्ब ९८ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

प्राधिकरणका अनुसार सम्पत्ति बीमामा १८ अर्ब ९५ करोड ३७ लाख रुपैयाँ दाबी परेको छ । जसमध्ये कम्पनीहरुले ४ अर्ब ८ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । मोटर बीमामा ३ अर्ब ८५ करोड ८१ लाख रुपैयाँ दाबी परेको थियो । कम्पनीहरुले १ अर्ब ७० करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ५५ करोड ८७ लाख रुपैयाँ दाबी परेको थियो भने कम्पनीहरुले ९ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अन्य बीमामा ३८ करोड ५२ लाख रुपैयाँ दाबी परेको थियो भने कम्पनीहरुले ७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

यसैबीच, नेपाल पुनर्बीमा कम्पनीले प्रत्यक्ष बीमाको पुनर्बीमा कमिसन पनि घटाएको छ। कम्पनीले १० प्रतिशत घटाएर अधिकतम २५ प्रतिशत कायम गरेको जनाएको छ। यसअघि प्रत्यक्ष बीमाको पुनर्बीमा कमिसन ३५ प्रतिशत थियो भने औसतमा १८ प्रतिशतसम्म हुने गरेको कम्पनीले जनाएको छ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले प्रत्यक्ष बीमा तर्फको २० प्रतिशत बीमा अनिवार्य रुपमा नेपाली पुनर्बीमा कम्पनीलाई दिनुपर्ने प्रावधान राखेको छ।

बीमकको पुनर्बीमा निर्देशिका अनुसार बीमकले स्वदेशी पुनर्बीमकलाई ट्रिटी पुनर्बीमा अन्तर्गत पुनर्बीमा गर्दा आर्थिक वर्ष २०७९/८० सम्म प्रति स्वदेशी पुनर्बीमकमा १०/१० प्रतिशत पुनर्बीमा गर्नुपर्ने प्रावधान छ । आव २०८०/८१ मा ८/८ प्रतिशत, आव २०८१/८२ मा ६/६ प्रतिशत र आव २०८२/८३ मा २/२ प्रतिशत स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने व्यवस्था छ।

यसअघि २० प्रतिशत नै नेपाल पुनर्बीमा कम्पनीलाई दिनुपर्ने प्रावधान थियो । हिमालयन रि इन्स्योरेन्स को स्थापना भएपछि दुवै कम्पनीलाई समान रुपमा पुनर्बीमा दिनुपर्ने व्यवस्था गरिएको हो।