शीर्षकहरू

दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। फागुन २५ गते बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेड लाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।

सेबोनको अनुमतिअनुसार कालंगा हाइड्रो लिमिटेड ले ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ जारी गर्नेछ। यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

कालंगा हाइड्रोले बझाङमा १५.३३ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजना निर्माण गरी २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। कम्पनीका अध्यक्ष खगेश्वर बोहोरा रहेका छन्। अन्य सञ्चालकमा उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शिवप्रसाद घिमिरे र तीर्थराज चटौत छन्। कम्पनी सचिवका रूपमा प्रदीपकुमार दाहाल रहेका छन्।

त्यस्तै सानीगड हाइड्रो लिमिटेड ले ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ जारी गर्नेछ। यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

सानीगड हाइड्रोले बझाङमै ३४.४६ मेगावाट क्षमताको अपर कालंगागड जलविद्युत आयोजना निर्माण गरी २०७९ फागुनदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ रहेका छन् भने अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, शिवप्रसाद घिमिरे र तीर्थराज चटौत छन्। कम्पनी सचिवका रूपमा प्रमोद आचार्य रहेका छन्।

दुवै कम्पनीले अब नियामकीय प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गर्नेछन्।