एजेन्सी । इजरायल र ईरानबीच जारी युद्ध ११औँ दिनमा प्रवेश गरेको छ। यसबीच ईरानले आफ्नो देशबाट एक लिटर तेल पनि बाहिर जान नदिने चेतावनी दिएको छ। साथै, होर्मुज स्ट्रेटबाट जहाज आवतजावत गर्न नयाँ सर्त अघि सारेको छ।
इजरायली सञ्चारमाध्यम वाइनेटका अनुसार ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले केही देशका जहाजलाई मात्र यो समुद्री मार्ग प्रयोग गर्न दिने जनाएको छ। तर त्यसका लागि ती देशहरूले आफ्नो देशमा रहेका अमेरिका र इजरायलका राजदूतलाई निष्कासन गर्नुपर्ने सर्त राखिएको बताइएको छ।
होर्मुज स्ट्रेट विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्ग मानिन्छ। विश्वभर आपूर्ति हुने करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ओसारपसार हुने गर्छ। यसैबीच अमेरिकी सञ्चारमाध्यम सीएनएनले भने ईरानले यो मार्ग प्रयोग गर्ने तेल ट्यांकर र व्यापारिक जहाजहरूबाट सुरक्षा शुल्क (सिक्युरिटी ट्याक्स) उठाउने योजना बनाइरहेको जनाएको छ। विशेषगरी अमेरिका समर्थित देशका जहाजहरूलाई लक्षित गरेर यस्तो शुल्क लगाउने तयारी भएको उल्लेख गरिएको छ।
आर्थिकन्यूज