शीर्षकहरू

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा

 

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ।

प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा श्रेष्ठले पदोन्नतिका लागि पेस गरेको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र नक्कली रहेको खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगका अनुसार श्रेष्ठले नेपाल प्रहरी सेवाको प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुँदा भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको देखिने ‘अखिल भारत वरिष्ठ विद्यालय प्रमाणपत्र परीक्षा–१९९९’ को अङ्कपत्र तथा स्थानान्तरण प्रमाणपत्रलगायतका कागजात पेस गरेका थिए।

अनुसन्धानका क्रममा ती कागजातहरू झुट्टा तथा नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ। आयोगका अनुसार नक्कली प्रमाणपत्र पेस गरी श्रेष्ठले राष्ट्रसेवकको ओहदा प्राप्त गरेका थिए र सोही आधारमा हालसम्म नेपाल सरकारबाट निवृत्तभरणसहितको हैसियत, लाभ तथा सुविधा लिँदै आएका थिए।

उक्त कार्य भ्रष्टाचारजन्य कसुर भएको ठहर गर्दै श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिम कैद तथा जरिवाना सजाय मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।