काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावका कारण ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि सरकारले हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरेको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित इमरजेन्सी रेस्पोन्स टिमको दोस्रो बैठकले ट्रान्जिटमा रोकिएका नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने उपायका रूपमा हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इजरायल र संयुक्त राज्य अमेरिकाको आक्रमणपछि इरानले खाडी तथा मध्यपूर्वका विभिन्न देशहरूतर्फ क्षेप्यास्त्र र मानवरहित विमान आक्रमण गर्दै आएको छ। बढ्दो सैन्य गतिविधिका कारण ती क्षेत्रका धेरै अन्तर्राष्ट्रिय हवाई मार्ग प्रभावित भएका छन्, जसका कारण यात्रामा रहेका नेपाली नागरिक ट्रान्जिट विमानस्थलहरूमा रोकिएका छन्।
सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न परराष्ट्र सचिव राईको संयोजकत्वमा इमरजेन्सी रेस्पोन्स टिम गठन गरेको थियो।
टिमको दोस्रो बैठकमा पश्चिम एसियाली देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि नेपाल सरकारले हालसम्म गरेका प्रयास र प्रगतिबारे समीक्षा गरिएको थियो। बैठकले नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय र कूटनीतिक पहललाई निरन्तरता दिने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रालयमा स्थापना गरिएको आपतकालीन नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्कमा आएका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा पनि बैठकमा छलफल गरिएको थियो।
मध्यपूर्व क्षेत्रमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपालीको सुरक्षा तथा हित संरक्षणका लागि समग्र अवस्थाको प्रभावकारी, समन्वयात्मक र द्रुत व्यवस्थापन गर्न इमरजेन्सी रेस्पोन्स टिमले आवश्यक काम गरिरहेको मन्त्रालयले जनाएको छ।
आर्थिकन्यूज