शीर्षकहरू

अभाव हुन नदिन भारतले ग्यास उत्पादन १० प्रतिशतले बढायो

अभाव हुन नदिन भारतले ग्यास उत्पादन १० प्रतिशतले बढायो

काठमाडौं । पश्चिम एशियामा बढ्दो तनावका बीच भारतले ग्यास उत्पादन बढाएकाे छ । मध्यपूर्वकाे तनावका कारण होर्मुज जलडमरूमध्य हुँदै आउने तरल प्राकृतिक ग्यासको आपूर्तिमा समस्या देखिएपछि भारतले स्वदेशी उत्पादन बढाउन थालेकाे हाे ।

तेल प्रशोधन केन्द्रहरूबाट निस्कने खाना पकाउने ग्यास उत्पादन करिब १० प्रतिशत बढाएको र सबै प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।  भारतमा वार्षिक खाना पकाउने ग्यास खपत करिब ३१ मिलियन मेट्रिक टन रहेको छ भने स्वदेशी उत्पादन करिब १२/१३ मिलियन टन मात्रै भएकाले ठूलो हिस्सा विदेशबाट ल्याउनुपर्छ।

प्राकृतिक ग्यास आपूर्तिको व्यवस्थापन भारतको सरकारी ग्यास कम्पनी GAIL मार्फत गरिने बताइएको छ, जसले प्राथमिक क्षेत्रमा ग्यास उपलब्धता सुनिश्चित गर्नेछ। सरकारले खाना पकाउने ग्यास अभाव भएको भन्ने हल्लामा विश्वास नगर्न पनि आग्रह गरेको छ।

युद्धका कारण ग्यास आयातमा समस्या बढेमा भारतले नर्वे, अमेरिका जस्ता टाढाका देशबाट पनि ग्यास ल्याउने विकल्प राखेको जनाएको छ।

यस्तै भारतले घरेलु प्राकृतिक ग्यास आपूर्ति गर्दा खाना पकाउने ग्यास, सवारीसाधनमा प्रयोग हुने ग्यास र पाइपमार्फत घरघरमा पुग्ने खाना पकाउने ग्यासलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ। यी क्षेत्रमा पछिल्ला ६ महिनाको औसत खपतका आधारमा शतप्रतिशत ग्यास उपलब्ध गराइने बताइएको छ। त्यसपछि मल उद्योगलाई करिब ७० प्रतिशत र चिया उद्योग, उत्पादन क्षेत्रलगायत अन्य उद्योगलाई करिब ८० प्रतिशत ग्यास उपलब्ध गराइने जनाइएकाे छ।

यसैबीच पश्चिम एशियामा बढ्दो तनावका कारण खाडी क्षेत्रसँग हुने व्यापारमा पनि असर देखिन थालेको छ। भारतका करिब ६/७ लाख मालवाहक कन्टेनर खाडी क्षेत्रका व्यापारिक मार्गमा रहेका छन्, जसमध्ये झन्डै ३.५ लाख कन्टेनर त्यहीँ अड्किएको बताइएको छ। जहाजहरूले वैकल्पिक समुद्री मार्ग अपनाउँदा सामान ढुवानीमा ढिलाइ भइरहेको जनाइएको छ।