काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी प्राथमिक सेयर (आईपीओ) फागुन २९ गते बिहान बाँडफाँड हुने भएको छ।
कम्पनीको आईपीओ फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट सेयर बाँडफाँड गरिनेछ।
यस क्रममा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने छन्। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो।
कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले यसको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो। यसमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई यसअघि नै बाँडफाँड भइसकेको छ।
यस्तै ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र सोही संख्याका २ लाख ८१ हजार २५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। यो रेटिङ २०८३ वैशाख २९ गतेसम्म बहाल रहनेछ।
उद्योग र वित्तीय अवस्था
विसं २०६६ असोज ९ गते निजी कम्पनीका रूपमा दर्ता भएको पाल्पा सिमेन्ट २०७८ असार २१ गते सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीको उद्योग नवलपरासीको सुनवलमा रहेको छ भने पाल्पाको माथागढी गाउँपालिकास्थित चुनढुंगा खानीबाट कच्चा पदार्थ आपूर्ति हुँदै आएको छ।
कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ र २०७८/७९ देखि भारतमा समेत निर्यात सुरु गरेको जनाएको छ।
गत आर्थिक वर्षमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो। चालु आर्थिक वर्षको अन्त्यसम्म २९ करोड ७५ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरिएको छ भने २०८३/८४ मा ३० करोड ५० लाख रुपैयाँ नाफा हुने अनुमान गरिएको छ।
कम्पनीका अनुसार आईपीओबाट उठेको रकम स्थायी चालु कर्जा भुक्तानीमा प्रयोग गरिनेछ।
आर्थिकन्यूज