शीर्षकहरू

कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने म्याद चैत १२ सम्म थप

कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने म्याद चैत १२ सम्म थप

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने म्याद थप गरेको छ।

धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार अब स्थानीय बासिन्दाले चैत १२ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन्। यद्यपि सो अवधिभन्दा अगावै मागभन्दा बढी आवेदन परेमा कम्पनीले सूचना प्रकाशित गरी निष्कासन प्रक्रिया बन्द गर्न सक्ने जनाएको छ।

कम्पनीले पहिलो चरणमा फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर भने फागुन १७ गते नै बन्द भइसकेको छ।

कम्पनीले ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत, अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।

उक्त आईपीओमा दोलखा जिल्लाको बिगु गाउँपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का बासिन्दाले मात्र आवेदन दिन सक्नेछन्। स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आवेदन दिन इच्छुक स्थानीयले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका साथै कम्पनीको कार्यालय बिगु गाउँपालिका–८, नेपाल बैंक लिमिटेड, सिन्धु विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सिङ्गटी शाखामार्फत आवेदन दिन सक्नेछन्।