शीर्षकहरू

समानुपातिक मतगणना सकियो, दलहरूको सिट निर्धारण प्रक्रिया सुरु

समानुपातिक मतगणना सकियो, दलहरूको सिट निर्धारण प्रक्रिया सुरु

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। पछिल्लोपटक गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना पूरा भएको निर्वाचन आयोग नेपालले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतगणना सकिएपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण आउने क्रम भने जारी छ।

मतगणना सम्पन्न भएसँगै समानुपातिकतर्फ राजनीतिक दलहरूले कति सिट पाउने भन्ने निर्धारण गर्ने प्रक्रिया पनि सुरु भएको छ। आयोगका अनुसार केही दिनभित्र यो प्रक्रिया टुंगिने अपेक्षा गरिएको छ।

आयोगका अनुसार बुधबार बिहान ११ बजेसम्म १ करोड ७ लाख ३९ हजार १ सय १५ मत गणना भएको छ। प्राप्त मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार २ सय ३५ मतसहित अग्रस्थानमा रहेको छ।

त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १४ लाख ४८ हजार ८ सय ५४ मत प्राप्त गरेका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ८ लाख ५ हजार ७ सय ७३ मत, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६ सय ४९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४ सय ७२ मत पाएका छन्।

अन्य दल भने समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउने अवस्थामा नदेखिएको आयोगले जनाएको छ।