काठमाडौं। लोकसेवा आयोग नेपालले विभिन्न प्रदेशका लागि ३५३ जना खरिदार (वा सो सरह) पदमा आवेदन माग गरेको छ। आयोगले बुधबार प्रकाशित गरेको विज्ञापनअनुसार अप्राविधिकतर्फ न्याय, सरकारी वकिल, सामान्य प्रशासन, लेखा लगायतका समूहमा कर्मचारी भर्ना गरिनेछ।
आयोगका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि उक्त पदमा भर्ना प्रक्रिया अघि बढाइएको हो।
उम्मेदवारको उमेर पुरुषका हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा महिलाका लागि ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
परीक्षा दस्तुर ५०० रुपैयाँ तोकिएको छ भने समावेशी समूहअन्तर्गत थप आवेदन दिन चाहनेले प्रति समूह १५० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १७ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आर्थिकन्यूज