शीर्षकहरू

मुद्धती निक्षेपमा एयरमार्क गर्न समयसीमा बढ्यो, बीमकले पाए १५ कार्यदिन

मुद्धती निक्षेपमा एयरमार्क गर्न समयसीमा बढ्यो, बीमकले पाए १५ कार्यदिन

काठमाडौं । अबदेखि बीमा कम्पनीहरुले मुद्धती निक्षेप खाता खोलिएको १५ कार्यदिनभित्र एयरमार्क प्रणालीमार्फत ब्लक रिक्वेष्ट पेश गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले ‘बीमकको मुद्धती निक्षेपमा लगानीको एयरमार्क सम्बन्धी मार्गदर्शन २०८१’ संशोधन गर्दै एयरमार्क गर्ने समयसीमा बढाएको हो। यसअघि प्राधिकरणले खाता खोलिएको ७ दिनभित्र एयरमार्क प्रणालीमा ब्लक रिक्वेष्ट पेश गर्नुपर्ने व्यवस्था गरेको थियो। 

नयाँ संशोधनसँगै बीमकहरुलाई थप समय उपलब्ध भएको छ । तोकिएको १५ कार्यदिनको अवधि नाघेपछि पेश गरिने कुनै पनि ब्लक रिक्वेष्टको प्रक्रिया भने अगाडि बढाइने छैन।

मार्गदर्शनअनुसार बीमकबाट ब्लक रिक्वेष्ट प्राप्त भएपछि प्राधिकरणले संलग्न कागजातहरुसँग मुद्धती निक्षेप खाताको विवरण प्रमाणीकरण गर्नेछ । आवश्यक विवरण तथा कागजातहरुको जाँचपछि प्राधिकरणले एयरमार्क प्रणालीमा उक्त रिक्वेष्ट स्वीकृत गर्ने व्यवस्था गरिएको छ । यसअघि खाता खोलिएको ७ दिनभित्र ब्लक रिक्वेष्ट पेश गर्नुपर्ने प्रावधान रहेको थियो । उक्त अवधि अत्यन्त छोटो भएको भन्दै बीमा कम्पनीहरुले गुनासो गरेपछि समयसीमा बढाइएको प्राधिकरणका निर्देशक साम्बराज लामिछानेले बताए। 

ब्लक रिक्वेष्ट पेश गर्दा बीमकले सम्बन्धित मुद्धती निक्षेपको नम्बर, मुद्धती निक्षेप सुरु भएको मिति तथा परिपक्व हुने मितिको प्रमाणीकरणका लागि निवेदन पत्र पेश गर्नुपर्नेछ । यसका साथै मुद्धती निक्षेप रसिद, प्रस्तावित मुद्धती निक्षेपमा गरिएको लगानी प्राधिकरणबाट जारी गरिएको लगानी निर्देशनले तोकेको सीमाभित्र रहेको भनी बीमकको वित्त प्रमुखद्वारा प्रमाणित स्व–घोषणा पत्र समेत संलग्न गर्नुपर्नेछ । एकै मितिमा सुरु भएका मुद्धती निक्षेप खाताहरुका लागि भने एउटै स्व–घोषणा पत्र जारी गर्न सकिने व्यवस्था गरिएको छ।

ब्लक रिक्वेष्टमा पेश गरिएका विवरणहरुमा भिन्नता पाइएमा उक्त रिक्वेष्टलाई कारण उल्लेख गर्दै अस्वीकार गरिनेछ । यसरी अस्वीकृत भएको रिक्वेष्टमा बीमकले आवश्यक सुधार गरी वा छुटेका विवरण तथा कागजातहरु संलग्न गरी पुनः पेश गर्नुपर्नेछ । प्राधिकरणद्वारा ब्लक रिक्वेष्ट प्रमाणीकरण भएपछि उक्त रिक्वेष्टलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थामा कार्यान्वयनका लागि एयरमार्क प्रणालीमार्फत पठाइनेछ।

प्राधिकरणको नाममा एयरमार्क गरिएका तथा परिपक्व भएका मुद्धती निक्षेपहरु फुकुवा गर्नका लागि बीमकले अनब्लक रिक्वेष्ट पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । मुद्धती निक्षेप परिपक्व हुनुभन्दा ७ कार्यदिनअघि बीमकले एयरमार्क प्रणालीमार्फत अनब्लक रिक्वेष्ट गर्न सक्नेछन् । अनब्लक रिक्वेष्ट पेश गर्दा बीमकले निवेदन पत्रसँगै सम्बन्धित मुद्धती निक्षेपको रसिद समेत संलग्न गर्नुपर्नेछ।

परिपक्व भएका मुद्धती निक्षेप फुकुवा गर्न विभिन्न मितिमा परिपक्व हुने निक्षेपका लागि अलग–अलग निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । तर एउटै मितिमा परिपक्व हुने मुद्धती निक्षेपहरुका लागि भने एउटै निवेदन पेश गर्न सकिने प्रावधान रहेको छ।

नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले बीमकहरुले पेश गरेका तथा प्राधिकरणद्वारा विधिवत प्रमाणीकरण भएका मुद्धती निक्षेपहरुको ब्लक तथा अनब्लक कार्यान्वयनका लागि एयरमार्क प्रणालीको प्रयोग गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कोर बैंकिङ प्रणालीमा बीमकहरुले मुद्धती निक्षेपमा गरेको लगानीलाई नेपाल बीमा प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणद्वारा ब्लक रिक्वेष्टको स्वीकृति इमेलमार्फत प्रमाणीकरण भएपछि बैंक तथा वित्तीय संस्थाले एयरमार्क प्रणालीमा यथाशीघ्र मुद्धती निक्षेप एयरमार्क गर्नुपर्नेछ। त्यसैगरी प्राधिकरणले अनब्लक रिक्वेष्ट स्वीकृत गरी इमेलमार्फत प्रमाणिकरण गरेपछि मात्र उक्त मुद्धती निक्षेप फुकुवा गर्न पाइनेछ।

बीमकले असाधारण परिस्थितिमा मुद्धती निक्षेपको समयपूर्व फुकुवाका लागि कारणसहित लिखित निवेदन दिन सक्नेछन् । यसका लागि सम्बन्धित कागजात तथा विवरणहरु संलग्न गरी प्राधिकरणमा आवेदन दिनुपर्नेछ । प्राधिकरणले प्राप्त निवेदनको मूल्याङ्कन गरी उल्लेख गरिएको कारण मनासिब देखिएमा समयपूर्व फुकुवा प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गरिएको छ।

मार्गदर्शनअनुसार बीमकहरुले मुद्धती निक्षेपमा लगानी गर्दा प्राधिकरणद्वारा जारी गरिएको प्रचलित लगानी निर्देशनले तोकेको सीमाभित्र रहेर अधिकेन्द्रित जोखिम कम गर्न लगानी विविधिकरण गर्नुपर्नेछ । बीमकले बीमितप्रतिको दायित्व पूरा गर्न र सञ्चालन खर्च व्यवस्थापन गर्न तरलता व्यवस्थापन रणनीति अपनाई पर्याप्त तरलता कायम राख्नुपर्ने पनि उल्लेख गरिएको छ।

यसका साथै बीमकले मुद्धती निक्षेपमा गरेको लगानीको नियमित जोखिम मूल्याङ्कन गरी जोखिम न्यूनीकरणका लागि आवश्यक जोखिम व्यवस्थापनका उपायहरु अवलम्बन गर्नुपर्नेछ । बीमकका मुद्धती निक्षेपमा भएका लगानीहरु प्राधिकरणद्वारा जारी गरिएको प्रचलित लगानी निर्देशनले तोकेको सीमाभित्र हुनुपर्ने प्रावधान समेत मार्गदर्शनमा उल्लेख गरिएको छ।

बीमकले आफ्नो वित्तीय विवरणमा मुद्धती निक्षेप लगानीको विवरण उल्लेख गर्दा पारदर्शिता कायम गर्नुपर्नेछ । लगानी निर्देशन तथा वित्तीय विवरण सम्बन्धी निर्देशनअनुसार प्राधिकरणलाई नियमित रुपमा आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

मुद्धती निक्षेपमा भएको लगानी बीमकको सम्पत्ति–दायित्व व्यवस्थापन नीति तथा रणनीतिसँग मेल खाने हुनुपर्नेछ । यो मार्गदर्शन प्राधिकरणबाट इजाजतपत्र प्राप्त सम्पूर्ण बीमक तथा ती बीमकहरुले नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा गरेको मुद्धती निक्षेप लगानीमा लागू हुनेछ।

बीमकको मुद्धती निक्षेपमा भएको कुल लगानीको समग्र सीमा प्राधिकरणद्वारा जारी गरिएको लगानी निर्देशन अन्तर्गत तोकिएको क्षेत्रगत सीमाभित्र हुनुपर्नेछ । कुनै पनि बीमकले एउटै बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्दा लगानी निर्देशनले तोकेको सीमा नाघ्ने गरी लगानी गर्न नपाइने व्यवस्था समेत गरिएको छ।

मार्गदर्शनमा बीमकको मुद्धती निक्षेपमा हुने प्रत्येक लगानी प्राधिकरणको पक्षमा ग्रहणाधिकार गरिएको हुनुपर्ने उल्लेख गरिएको छ । सम्पूर्ण बीमकहरुले मुद्धती निक्षेपमा गरिएको लगानीमा प्राधिकरणको नाममा ग्रहणाधिकार स्थापना गर्न तथा फुकुवा गर्न एयरमार्क प्रणाली प्रयोग गर्नुपर्नेछ।

बीमकहरुले एयरमार्क प्रणाली प्रयोग गर्दा प्राधिकरणबाट सम्बन्धित अधिकारीलाई उपलब्ध गराइएको आधिकारिक युजरनेम तथा पासवर्ड प्रयोग गर्नुपर्नेछ । प्राधिकरणद्वारा उपलब्ध गराइएको युजरनेम तथा पासवर्डको सुरक्षाको जिम्मेवारी प्रयोगकर्ताको स्वयंको हुने र उक्त विवरण अन्य व्यक्तिलाई साझेदारी गर्न नपाइने व्यवस्था गरिएको छ।

यसैगरी बीमकले प्राधिकरणमा पठाएका एयरमार्क सम्बन्धी सम्पूर्ण विवरणहरुको प्रतिलिपि सुरक्षित रुपमा अभिलेख राख्नुपर्नेछ । प्राधिकरणले माग गरेको अवस्थामा ती अभिलेखहरु पेश गर्नुपर्ने व्यवस्था समेत मार्गदर्शनमा व्यवस्था गरिएको छ।

प्राधिकरणका अनुसार आर्थिक बर्ष २०८१÷८२ मा जीवन बीमकहरुले प्राधिकरणको नाममा १ खर्ब १२ अर्ब ९३ करोड २६ लाख रुपैयाँ एयरमार्क गरेका छन् । निर्जीवन बीमकहरुले २६ अर्ब अर्ब ९० करोड ३ लाख रुपैयाँ एयरमार्क गरेका छन् । पुनर्बीमकहरुले ११ अर्ब ६५ करोड १ लाख रुपैयाँ एयरमार्क गरेका छन् भने लघु बीमकहरुले ९२ करोड ५८ लाख रुपैयाँ एयरमार्क गरेका छन्। 

बीमकको लगानी निर्देशिका अनुसार बीमा कम्पनी कम्पनीहरुले बाणिज्य बैंकमा तथा पूर्वाधार विकास बैंकमा आफनो लगानीको ३० प्रतिशतसम्म लगानी गर्न पाउनछन् । विकास बैंकमा १५ प्रतिशत र वित्त कम्पनीमा ७ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । बैक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा कुल लगानीको बढीमा ३० प्रतिशतसम्म लगानी गर्न सक्नेछन्।