शीर्षकहरू

संसदमा रास्वपाको दबदबा, दुईतिहाइका लागि दुई सिट अपुग

संसदमा रास्वपाको दबदबा, दुईतिहाइका लागि दुई सिट अपुग

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको मतगणना सकिएपछि दलहरूले पाउने सिटको प्रारम्भिक अंकगणित सार्वजनिक भएको छ। कुल १ करोड ७ लाख ३९ हजार १ सय १५ मत सदर भएको विवरणका आधारमा समानुपातिकतर्फ ११० सिट बाँडफाँट गरिनेछ।

समानुपातिक प्रणालीअन्तर्गत सिट वितरण गर्दा ३ प्रतिशतभन्दा कम मत ल्याउने दल सिट बाँडफाँट प्रक्रियामा समावेश नहुने कानुनी व्यवस्था छ। यसपटक प्राप्त मतका आधारमा ६ वटा दलले मात्रै थ्रेसहोल्ड पार गरेका छन्।

मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २ सय ३५ मत (४७.८६ प्रतिशत) प्राप्त गर्दै अग्रता कायम गरेको छ। त्यसपछि नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३ मत, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८ सय ५४ मत, नेपाल कम्युनिष्ट पार्टीले ८ लाख ५ हजार ७ सय ७३ मत, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६ सय ४९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४ सय ७२ मत प्राप्त गरेका छन्।

मतको अनुपातका आधारमा गरिएको प्रारम्भिक गणनाअनुसार समानुपातिकतर्फ रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राप्रपाले ४ सिट प्राप्त गर्ने देखिएको छ।

प्रत्यक्षतर्फ प्राप्त सिटसँग जोड्दा प्रतिनिधिसभामा रास्वपाको १८२ सिट पुग्ने अनुमान गरिएको छ। यस्तै कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृति पार्टीको ७ र राप्रपाको ५ सिट पुग्ने देखिन्छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा त्यस लक्ष्यभन्दा दुई सिटले मात्रै पछाडि पर्ने देखिएको छ। निर्वाचन आयोगले भने अन्तिम आधिकारिक परिणाम सार्वजनिक भएपछि मात्रै सिट बाँडफाँटको औपचारिक घोषणा गरिने जनाएको छ।

null