काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री नीति, डिजिटल सेवा, सन्तुलित र पादर्शी विकास अब बन्ने सरकार केन्द्रित रहने आशा जेनजी पुस्ताले व्यक्त गरेका हुन् ।
गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको ‘जेनजी’ प्रदर्शनमा सहभागी भएर घाइते हुनुभएका २५ वर्षीय मदन कार्कीले अब बन्ने सरकारले युवापुस्ताको माग र मर्मलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । निर्वाचनमा मतदान गरेर फर्किएपछि उहाँले अब बन्ने सरकारप्रति सकारात्मक परिवर्तनको आशा राखेर आफू मतदानमा सहभागी भएको बताए ।
कार्कीले सरकार र ‘जेनजी’ आन्दोलनका समूहबीच भएका १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । ‘नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस् । सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस् । अब बन्ने सरकारले आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्छ’ उनले भने ।
उक्त आन्दोलनका क्रममा घाइते भएकी लिजा अधिकारी अहिले पनि अस्पतालमा उपचाररत छिन् । बीस वर्षीया अधिकारीले अस्पतालको श्ययाबाटै अब बन्ने सरकारले युवाका माग कार्यान्वयन गर्ने आफ्ना अपेक्षा व्यक्त गरिन् ।
जेनजी आन्दोलनले उठाएका मुद्दाहरू भ्रष्टाचार अन्त्य, पारदर्शिता र सुशासन अबको सरकारले कार्यान्वयनमा ल्याउनुपर्नेमा अधिकारीले जोड दिइन् ।
‘हामीले आन्दोलनमार्फत उठाएका माग पूरा हुनेमा विश्वास छ । सुशासनसँगै देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले ध्यान दिनुपर्छ’ उनले भनिन् ।
रामेछाप स्थायी घर भई काठमाडौँमा बस्दै आएकी २२ वर्षीया सुजता कार्कीका अनुसार जेनजी आन्दोलनपछि युवाहरूमा राजनीतिप्रतिको चासो बढेको छ । अब बन्ने सरकारले युवाहरूका लागि ‘पार्टटाइम’ रोजगारीको व्यवस्था गर्ने र विकट तथा पिछडिएका क्षेत्रलाई पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
‘पहिले मलाई राजनीतिमा खासै रुचि थिएन । तर आन्दोलनपछि राजनीतिक गतिविधिमा ध्यान दिन थालेकी छु । देशमा रोजगारीको अवसर हुनुपर्छ । विदेश जानुपरे पनि कामका लागि होइन, घुम्नका लागि मात्र जाऊँ भन्ने अवस्था बन्नुपर्छ’ उनले भने ।
दोलखाका २३ वर्षीय विशाल बुढाथोकीका अनुसार अब बन्ने सरकारले पुराना दलले गर्न नसकेका नीतिगत सुधार र पूर्वाधार विकासलाई गति दिनुपर्छ । गाउँ र सहरबीच भएका विकासका असन्तुलन हटाउन सरकारले प्राथमिकता दिने उनले विश्वास व्यक्त गरे ।
‘सहरमा विकास देखिन्छ तर गाउँमा त्यो स्तरको विकास छैन’ उनले भने । विदेशमा अध्ययन गर्ने योजना बनाएका बुढाथोकीले अध्ययनपछि स्वदेश फर्केर व्यवसाय गर्ने वातावरण बन्ने अपेक्षा गरेका छन् ।
काठमाडौँका २७ वर्षीय विनय ढुङ्गानाले आफ्नो मत परिवर्तनको पक्षधरलाई भएको भन्दै डिजिटल सरकार (डिजिटल गभर्नेन्स) र उत्पादनमुखी अर्थतन्त्रमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
‘नयाँले धेरै गर्छन् भन्ने भन्दा पनि पुरानाले केही गरेनन् भन्ने निराशाले मत फेरेको हो’ उनले भने ‘सरकारी सेवा प्रवाह सरल र सहज बन्ने अपेक्षा छ । सामान्य कामका लागि भनसुन वा पैसा दिनुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।’
दोलखाका २४ वर्षीय किरण बुढाथोकीले जनताले परिवर्तनका लागि मत दिएको स्मरण गराउँदै अब बन्ने सरकारले प्रणाली विकासमा ध्यान दिएपछि मात्रै विकासका काम प्रभावकारी बन्नुपर्ने धारणा राखे । ‘हामीले चाहेको दल सरकार बनाउनतर्फ अघि बढेको छ । अब जनताले खोजेको सरकार आउने देखिन्छ’, उनले भने ‘पर्यटन, जलविद्युत् र कृषिमा सरकारले ठूलो सम्भावना भएको क्षेत्रको रूपमा काम गर्नुपर्छ । घोषणापत्र कार्यान्वयन गर्नुपर्छ ।’
खोटाङकी १९ वर्षीया सलिना राईले युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नु अबको सरकारको मुख्य जिम्मेवारी हुनुपर्ने बताए । ‘मेरो परिवार र गाउँका धेरै युवाहरू रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमै भरपर्दो रोजगारी नहुँदा हामी अन्योलमा छौँ’ उनले भने ‘अबको सरकारले रोजगारी सिर्जना गर्छ भन्ने विश्वास छ ।’- रासस
आर्थिकन्यूज