काठमाडौँ । लगातार दोस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा रोकिएको छ। बजारको गिरावटसँगै कारोबार रकम पनि कम भएको छ।
आज ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हिजो समान ३२९ कम्पनीका ५ करोड २७ लाख कित्ता सेयर २१ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएको थियो।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।
व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से परिसूचक लगातार दोस्रो दिन भारी गिरावट आएको अवस्थामा पनि केही कम्पनीका लगानीकर्ताले राम्रो लाभ कमाएका छन्। बुधबार सेयर बजारमा ठूला कम्पनीका शेयरमा सबैभन्दा धेरै कारोबार भएको छ।
यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कालिका पावर कम्पनीको शेयरमूलय यस दिन सर्वाधिक ८.४७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ४९ करोड रुपैयाँ नाघेको छ।
आर्थिकन्यूज