शीर्षकहरू

महिलासँग दुर्व्यवहारको आरोपपछि बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ

महिलासँग दुर्व्यवहारको आरोपपछि बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ

बीरगन्ज । स्थानियले पर्सा स्थित बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरी तालाबन्दी गरेका छन् ।  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरूम राउत गद्दीको राजीनामा माग गर्दै स्थानीयले आन्दोलन गरेकाे जिल्ला बनकार्यालयले जनाएको छ।

जिराभवानी गाउँपालिका अन्तर्गतका सेढवा, बसन्तपुर, काठमाडौंटोल, भवानीपुर, महादेवपट्टी, हरैया र सुपौली लगायतका गाउँका नागरिकहरू आइतबार दिउँसो सब डिभिजन बन कार्यालय पुगेर आन्दोलन गरेका हुन ।

घासकाटन बन गएका महिलाहरुसंग अभद्र  र दुर्व्यवहार गरेको आरोप लगाउदै  स्थानीय उपभोक्ताहरू बन साझेदारीका पदाधीकारीहरुको बिरोधमा ओर्लेका बताइन्छ । आन्दोलनका ओर्लेका स्थानियका अनुसार घाँस–दाउरा गर्न, घर लिपपोतका लागि माटो लिन वा वस्तुभाउ चराउन वन क्षेत्रमा जाँदा अध्यक्ष गद्दी, कार्यालय सहयोगी सोवालाल साह रौनियार र गद्दीका भान्जा समिम गद्दीले अभद्र व्यवहार गर्ने आरोप आन्दोलनकारीहरुको रहेको छ । उनीहरूले सर्वसाधारण माथि अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको समेत प्रर्दनकारीहरुको गुनासो छ ।

जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाको नेतृत्वमा भएको सो आन्दोलनकारीको टोली कार्यालय पुग्दा समूहका पदाधिकारीहरू भने फरार भएका थिए। स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी हरैया र सशस्त्र प्रहरी बल बेस क्याम्प सुवर्णपुरको टोली घटनास्थलमा खटिएको थियो।

काठ तस्करीमा मिलेमतोको दाबी आन्दोलनको नेतृत्व गरिरहेका सरोज चौरसियाले डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद र साझेदारी वनका अध्यक्ष गद्दीको मिलेमतोमा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी भइरहेको आरोप लगाए ।

यसै क्रममा, गत फागुन १४ गते बिहीबार राति करिब ७ः०० बजे जिराभवानी गाउँपालिका वडा नं. ३ सहजानपुरबाट अवैध काठसहितको एक थान ट्याक्टर नियन्त्रणमा लिइएको थियो। प्र २–०३–००१ त ३८०० नम्बरको उक्त ट्याक्टरमा लोपोन्मुख जातको सतिसाल र सिसौको काठ फेला परेपछि प्रहरी चौकी हरैयामा बुझाइएको छ।

वन अधिकृतकै गम्भीर खुलासा बसन्तपुर सब–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मोवारक अलीले घटनाको पुष्टि गर्दै जंगलमा छपान गरिएको काठ नै समितिका अध्यक्ष र अन्य पदाधिकारीहरूले अवैध रूपमा कटानी गरी बिक्री गरेको बताए । उनका अनुसार अध्यक्ष गद्दीमाथि कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा पटक–पटक पत्राचार गर्दा समेत कुनै सुनुवाइ नभएको गुनासो गरे ।

यस विषयमा डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने वनसम्बन्धी पछिल्ला घटनाहरूको अनुसन्धान भइरहेको संक्षिप्त प्रतिक्रिया दिए ।