काठमाडौं । स्कुले जीवनमै पारस मणि गेलाललाई असल शासनको बीजारोपण भयो। उक्त समयमा प्रो पब्लिकले रेडियो कार्यक्रममार्फत सार्वजनिक सुनुवाइ, जवाफदेहिता र भ्रष्टाचारविरुद्धका कार्यक्रम प्रस्तुत गर्ने तथा कसरी असल शासन क्लब गठन गरी स्थानीय स्तरमै कार्यक्रम गर्ने भन्ने सिकाइ दिएको थियो। तब उनी असल शासन रेडियो कार्यक्रमका नियमित श्रोता नै भए। उनको त्यो सुन्ने र सिक्ने प्रक्रिया निरन्तर अगाडि बढ्दै गयो।
समाजप्रतिको जिम्मेवारी तथा स्कुले जीवनमै गुड गभर्नेन्सबारे बुझेका उनले कक्षा ८ मा अध्ययन गर्दै गर्दा ‘लोकल गुड गभर्नेन्स’ म्यागजिन निकाल्न सुरु गरेका थिए। स्थानीय स्तरमा सार्वजनिक पदधारकलाई जवाफदेहिता र पारदर्शितामाथि प्रश्न त उनले गर्ने नै गर्थे, सँगसँगै सार्वजनिक सुनुवाइमार्फत जनताकै अगाडि जवाफ खोजिदिने पुल पनि बनिदिन्थे।
२०५८ सालमा आफ्नो स्कुले शिक्षा सम्पन्न गरेपछि उनी कलेज अध्ययनमा लागे। उक्त समयमा देशमा व्याप्त आर्थिक समस्या र राजनीतिक द्वन्द्वले उनको विचारलाई परिवर्तन गर्न खोज्यो र उनले २०६० सालमा पासपोर्ट बनाए। बुवालाई फकाउने कोसिस गर्दै उनले भनेका थिए, “म अब घरको आर्थिक समस्या कम गर्न मलेसिया जान्छु।”
उनका बुवा दुर्गा प्रसाद गेलालले क्रान्तिकारी आन्दोलनलाई नजिकबाट नियालेकाे र शिक्षाको महत्व बुझ्नेका कारण उनले “म जस्तोसुकै समस्या परे पनि पढाउन सक्छु, त्यसैले मास्टर्स डिग्रीसम्म अध्ययन गरेर मात्र विदेश जानु” भन्दै पासपोर्ट दराजमा राखिदिए । बुबाकाे त्याे प्रतिवाद नै उनकाे जीवनकाे टर्निङ पोइन्ट बन्यो । त्यसपछि उनको जीवनले पढाइ, सिकाइ र सामाजिक कार्यमा अगाडि बढ्ने मार्ग प्राप्त गर्यो।
सन् २०१० मा मास्टर्स डिग्रीको अध्ययन सम्पन्न गरेका उनले उक्त समयसम्म असल शासन क्लबको अभियानमार्फत थुप्रै काम गरिसकेका थिए । सन् २००६ देखि २०१० सम्म जिल्ला असल शासन क्लबका सचिव भएर महत्वपूर्ण जिम्मेवारी पनि निर्वाह गरिसकेका थिए।
उनको देशप्रेम र भ्रष्टाचारविरुद्धको आवाज यति बुलन्द थियो कि उनी हरेक तह–तप्कामा नागरिकले समस्या भोग्न नपरोस् भनेर आफ्नो आवाज उठाइरहन्थे।
२०१९ मा कोभिडको समयमा सुरक्षाकर्मीलाई कोभिड प्रोटेक्सनका मास्क, सेनिटाइजर र थर्मल गन वितरणदेखि सरकारलाई खबरदारी गर्न कहिल्यै पछि परेनन्।
कोभिडको समयमा भएको सामग्री खरिदको अनियमितताविरुद्ध त उनी सडकमै राष्ट्रिय झन्डा बोकी विरोधमा उत्रिएका थिए। उक्त समयमा प्रहरी धरपकडमा समेत उनी थुनिएका थिए।
भ्रष्टाचारको विरोध तथा काम गर्ने एउटा दल वा समूहको खोजीमा थिए उनी। २०७९ मा रास्वपा गठन भएपछि उनले आफूलाई यही दलको विचार र सिद्धान्त मिल्ने लागेपछि दलको सदस्यता लिएर रास्वपामै आफ्ना एजेन्डा स्थापित गर्न लागिपरे।
बालेन शाह मेयर हुँदा गरेका काम देखेर उनी बालेनका प्रशंसक मात्रै बनेनन्, निर्दलीय बालेनलाई सरकारले दुःख दिने तथा अदालतमा मुद्दा चलाउने कार्यको घोर भर्त्सना गर्दै उनले बृहत् र्याली समेत निकालेका थिए।
उनको विचार मिल्ने दल र व्यक्तिको उनी जहिले पनि अनुयायी बने, जसले गर्दा उनका हरेक काम र गतिविधि जनताका समस्या समाधानमै केन्द्रित थिए।
राजनीतिलाई पेशा नबनाउने अठोट
उनले नजिकबाट कसरी राजनीति गर्ने मानिसले दल र आफैंलाई दूषित गरे भन्ने नियालिरहेका थिए। त्यसैले उनको मनमा सधैं एउटा कुरा खेलिरहन्थ्यो— राजनीतिमार्फत समाजलाई राम्रो कामको डेलिभरी त गर्नै पर्छ, तर यसलाई पेशा बनाउनु हुँदैन। यस कारण उनले आफ्नै भाइले सुरु गरेका अटोमोबाइल डिलरशिप व्यवसायमा संलग्न हुने निर्णय लिए। उनी चीनबाट विश्वविख्यात ‘स्काईवेल ब्रान्ड’का ईभीका नेपालका लागि वितरक हुन्।
दिगो विकास र वातावरणका लागि राम्रो हुने विद्युत् सवारीका विक्रेता तथा वितरक पनि हुन्। विगत १४ वर्षदेखि उनी देशमा रोजगारी सिर्जना र व्यवसाय विस्तारमै सक्रिय छन्।
जेनजी आन्दोलनपछि उनले उदयपुर जन्म जिल्ला तथा आफ्नो औपचारिक शिक्षा लिएको क्षेत्र, जहाँ ३० वर्षसम्म विकासका नाममा धोका र आम जनताका आधारभूत समस्या यथावत् देखेका कारण, उक्त क्षेत्रमा विकास, उद्योग र पर्यटनमार्फत आर्थिक रूपमा जनतालाई समृद्धितर्फ डोर्याउने लक्ष्यसहित उम्मेदवारी दर्ता गराएका गेलालले रास्वपाबाट सांसदका रूपमा अत्यधिक मतान्तरसहित ३० हजार ५९० मत प्राप्त गरी प्रतिनिधि सभामा उदयपुर जिल्लाको आवाज उठाउनेछन् ।
आर्थिकन्यूज