शीर्षकहरू

फेक रेस्क्यु’ प्रकरणमा ट्रेकिङ कम्पनीका सञ्चालक पासाङ शेर्पा पक्राउ

फेक रेस्क्यु’ प्रकरणमा ट्रेकिङ कम्पनीका सञ्चालक पासाङ शेर्पा पक्राउ

काठमाडौँ । पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा विदेशी पर्यटकको ‘फेक रेस्क्यु’ देखाई बीमा रकम दाबी गर्ने प्रकरणमा ट्रेकिङ कम्पनीका एक सञ्चालक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पनोरमा हिमालय ट्रेकिङ एन्ड एक्स्पेडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा (५०) लाई फागुन २७ गते पक्राउ गरिएको हो। उनी सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ का स्थायी बासिन्दा हुन्।

अनुसन्धानका क्रममा उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाई रेस्क्यु फ्लाइट गराएको नक्कली कागजात तयार गरी बीमा रकम दाबी गर्ने कार्यमा संलग्न रहेको आरोप लागेको छ।

प्रहरीका अनुसार केही रेस्क्यु कम्पनीहरूले “प्यासेन्जर एन्ड कार्गो म्यानिफेस्ट (यात्रु तथा सामान विवरण सूची) लगायतका अभिलेख फरक पारी किर्ते कागजात बनाउने, उद्धार गरिएको भनिएका पर्यटकलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरेको देखाई नक्कली बिल, मेडिकल रिपोर्ट र डिस्चार्ज कागजात तयार गर्ने जस्ता कार्य गरेर आर्थिक लाभ लिएको पाइएको छ।

यस प्रकरणमा माउन्टेन रेस्क्यु सर्भिस प्रा.लि., एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रा.लि. तथा नेपाल चार्टर सर्भिस प्रा.लि. लगायतका कम्पनीहरू पनि अनुसन्धानको दायरामा रहेका छन्।

विदेशी नागरिकबाट सन् २०२५ मा सगरमाथा बेसक्याम्प ट्रेकका क्रममा आफ्नो सहमति बिना हेलिकप्टर बोलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गराई बीमा रकम दाबी गरिएको भन्दै अनलाइनमार्फत उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।

प्रहरीका अनुसार उक्त घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठामा असर पर्ने गतिविधि भएको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा ५१ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा चलाइएको छ।

हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, बीमा कम्पनीका स्थानीय एजेन्ट र हेलिकप्टर कम्पनीसँग सम्बन्धित १० जना पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।