फागुन २१ गते काठमाडौं बालाजुस्थित एभरेडी ब्याट्री कारखाना परिसरको मतदान केन्द्रमा दिउँसो करिब ३ः३० बजेतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार डोलप्रसाद (डीपी) अर्याल मतदान गर्न पुगे।
मतदान सकेर बाहिर निस्किएका अर्यालले सञ्चारकर्मीसँग कुरा गर्दै भने “रास्वपाले यो पटक १८६ सिट जित्छ ।” उनले दुई सिट जगेडा राख्दै १८४ सिट अर्थात् दुई तिहाइको बहुमत आउने दाबी गरेका थिए।
त्यो क्षण धेरैका लागि अनौठो थियो । अझ कतिपयका लागि असम्भव जस्तै । त्यो भनाइ केही मिनेटमै सामाजिक सञ्जालमा फैलियो । भिडियो भाइरल बन्यो । कतिपयले त्यसलाई आत्मविश्वास भने । धेरैले खिसीटिउरी गरे । तर अर्याल भने आफ्नो दाबीबाट पछि हटेनन्।
त्यतिबेलासम्म अर्यालले आफ्नै निर्वाचन क्षेत्रका ३४ मतदान केन्द्रमध्ये करिब २५ केन्द्रको अवलोकन गरिसकेका थिए । त्यसैबीच उनी देशभरको मतदान अवस्थाबारे पनि जानकारी लिइरहेका थिए । मतदातामा देखिएको परिवर्तनको संकेत र माहोललाई आधार मानेर उनले त्यो आकलन गरेका थिए।

आज निर्वाचन आयोगले मतगणनाको कार्य सम्पन्न गरेको छ । हालसम्मको परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ । समानुपातिकतर्फ ५१ लाख ५० हजार ८५८ मत अर्थात् ४७.७९ प्रतिशत मत प्राप्त गर्दै ५७ सिट हासिल गरेको छ । यससँगै रास्वपाको कुल सिट संख्या १८२ पुगेको छ, दुई तिहाइ बहुमतबाट केवल दुई सिट टाढा।
निर्वाचनको दिन गरिएको अर्यालको दाबी र अन्तिम परिणामबीचको यो निकटताले धेरैको ध्यान तानेको छ । कहिलेकाहीँ ठूलो परिवर्तनको संकेत सुरुमै सबैलाई स्पष्ट देखिँदैन।
पहिला त्यो विश्वासको रूपमा जन्मिन्छ । त्यसपछि आलोचना र उपहासको बाटो पार गर्छ । र अन्तत : परिणामले त्यसलाई सत्य सावित गर्छ।
घरदैलोको यात्रादेखि ऐतिहासिक जितसम्म
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका अर्याल यस पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिए । उनले रोजेको क्षेत्र थियो, काठमाडौं क्षेत्र नम्बर ९।
धादिङमा जन्मिएका अर्याल अहिले काठमाडौंमा बस्छन् । जीवनको लामो समय उनले क्षेत्र नम्बर ९ मा नै बिताएका थिए । त्यसैले यहाँको भुगोल, बस्ती, मान्छे र उनीहरूको जीवनका समस्यासँग उनी परिचित थिए । त्यसैले सहज मानिने अन्य क्षेत्रहरू हुँदा पनि उनले काठमाडौं ९ रोजे।
काठमाडौं रोज्नुको कारण केवल आफ्नो परिचित क्षेत्र मात्र थिएन । पार्टीको जिम्मेवारी पनि उत्तिकै ठूलो थियो । पार्टीले उनलाई संघीय निर्वाचन सम्पादन समितिको संयोजक बनाएको थियो । त्यसैले देशभरका उम्मेदवार र चुनावी व्यवस्थापन सम्हाल्दै टाढाको क्षेत्र रोज्नु सम्भव थिएन । चुनौतीपूर्ण भए पनि नजिकैको क्षेत्र रोज्नु उनको बाध्यता पनि थियो।
निर्वाचनको दिन बिहान उनले आत्मविश्वासका साथ भनेका थिए “मेरो पक्षमा करिब ६५ प्रतिशत मत खस्छ ।” तर नतिजा त्यसभन्दा पनि प्रभावशाली आयो।
अर्यालले ३५ हजार ९३ मत अर्थात् ६९.२६ प्रतिशत मत ल्याउँदै काठमाडौं उपत्यकाभर सबैभन्दा ठूलो मतान्तरसहित विजय हासिल गरे । समानुपातिकतर्फ पनि उनको क्षेत्रमा रास्वपाले ३४ हजार ६७१ मत (६६.९२ प्रतिशत) प्राप्त गर्यो।
काठमाडौं–९ को भूगोल आफैंमा चुनौतीपूर्ण छ । धादिङ सिमानासम्म फैलिएको पहाडी भेगदेखि न्यूरोडको भीडभाड, चन्द्रागिरी र नागार्जुनका विकट बस्तीहरू, यो क्षेत्रले उम्मेदवारसँग समय, ऊर्जा र धैर्य सबै माग्थ्यो।
कतिपय वडामा सडक नै थिएन । कतिपय बस्तीमा एउटा घर र अर्को घरबीच दूरी लामो हुन्थ्यो । तर अर्याल त्यहाँ पनि पुग्थे—हिँडेरै।
बिहान ६ बजेदेखि उनी घरदैलोमा निस्कन्थे । बस्ती–बस्ती पुग्थे, मानिसहरूसँग हात मिलाउँथे, गुनासो सुन्थे । १२ः३० बजेपछि उनी पार्टी कार्यालय पुग्थे । त्यहाँ उनको अर्को भूमिका सुरु हुन्थ्यो, देशभरका उम्मेदवार, कार्यक्रम समन्वय, स्रोत व्यवस्थापन, चुनावी रणनीति।
बेलुका ४ बजेदेखि ६ः३० बजेसम्म उनी फेरि मतदातामाझ फर्किन्थे । रात पर्नासाथ उनी पुन : पार्टीको काममा व्यस्त हुन्थे।
घरदैलोमा हिँड्दा पनि उनको फोन कहिल्यै शान्त हुँदैनथ्यो । कहिले कुनै जिल्लाबाट फोन आउँथ्यो, कहिले उम्मेदवारको समस्या, कहिले कार्यक्रम व्यवस्थापन चटारो।
तर मतदाताको ढोका ढक्ढक्याउँदा उनको अनुहारमा थकान देखिँदैनथ्यो।
सधैं उस्तै फुर्तिलो, हसिलो मुस्कान।
मतदाता भेटने बित्तिकै उनी भन्थे — “म डीपी अर्याल, घण्टी पार्टीबाट । भोट माग्न आएको ।”
कतिपय ठाउँमा त मतदाताहरू उनलाई बाटोमै पर्खिरहेका हुन्थे । कसैले खादा ओढाउँथे, कसैले माला लगाइदिन्थे, कसैले अबिर दलिदिन्थे।
जसरी उनी बस्ती–बस्ती हिँडे, पार्टीभित्र चुनाव व्यवस्थापनको जिम्मेवारी सम्हाले, मतदातासँग सम्बन्ध गाँसे, त्यसको परिणाम अन्तत : मतपेटिकामा देखियो।
धेरैले अनुमान गरेका थिए, रास्वपाले यसपटक बलियो नतिजा ल्याउँछ । तर काठमाडौं–९ मा अर्यालको जित र देशभर रास्वपाले ल्याएको परिणामले त्यो अनुमानलाई अझ स्पष्ट प्रमाणित गरिदियो।
अर्यालको आँटले सम्भव भयो, एक घण्टामै श्रम स्वीकृति
२३ फागुन २०८० मा डीपी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले । मन्त्रालयको कुर्सी समाल्दै गर्दा, उनले एउटा घोषणा गरे – वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति अब एक घण्टामै उपलब्ध हुनेछ।
त्यतिबेला श्रम स्वीकृतिको लागि औसत तीन दिन लाग्थ्यो।
तर अर्यालले भने, “अब श्रमिकले तीन दिन कुर्नु पर्दैन । एक घण्टामै श्रम स्वीकृति पाउने व्यवस्था बनाउँछौँ ।”
उनको यो घोषणा सुन्नेहरू धेरै थिए, तर विश्वास गर्ने कम । कतिपयले यसलाई असम्भव भने । मन्त्रालयभित्रैका केही कर्मचारीले त नयाँ पार्टीका नयाँ मन्त्रीले “स्टन्ट” गर्न खोजेको भन्दै खिल्ली नै उडाए।
त्यतिमात्र होइन, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि शंका व्यक्त गरे । उनले भनेका थिए — “एक घण्टामै त सम्भव नहोला, तैपनि विचार गर्नुहोस् ।”
तर अर्याल आफ्नो बोलीबाट पछि हटेनन् । उनले सम्बन्धित निकायका अधिकारीहरू, कर्मचारीहरू र प्राविधिक टोलीलाई पटक–पटक बैठकमा बोलाए । समस्या कहाँ छ, ढिलाइ किन हुन्छ, प्रक्रिया कसरी छोट्याउन सकिन्छ—यी सबै विषयमा लगातार छलफल भइरह्यो।
कतिपय दिन उनी वैदेशिक रोजगार विभाग पुग्थे । कतिपय रात मन्त्रालयकै कार्यकक्षमा आईटी टोलीसँग बसेर सिस्टम सुधारबारे छलफल गर्थे । अबेर रातसम्म बैठक चल्थ्यो । फाइलहरू पल्टाइन्थे, प्रक्रियाहरू केलाइन्थे, सिस्टम परीक्षण हुन्थ्यो।
दुई महिना बिते।
अन्तत :, जुन कुरा धेरैलाई असम्भव लागिरहेको थियो, त्यो सम्भव बन्यो । श्रम स्वीकृति अब एक घण्टामै उपलब्ध हुने व्यवस्था लागू भयो । तर त्यसको श्रेय भने अर्यालले आफैं लिएनन् । उनले वैदेशिक रोजगार विभागमै पत्रकार सम्मेलन आयोजना गरेर कर्मचारी र प्राविधिक टोलीलाई धन्यवाद दिए।
एक घण्टामा श्रम स्वीकृतिको व्यवस्था लागू भएपछि यसको सबैभन्दा ठूलो राहत वैदेशिक रोजगारीमा जाने श्रमिकले पाए । श्रम स्वीकृतिको एउटा कागजका लागि उनीहरू समय, पैसा र सम्मान—तीनै गुमाइरहेका थिए । तर अर्यालले ल्याएको नयाँ व्यवस्थाले त्यो पीडा धेरै हदसम्म अन्त्य गरिदियो । वर्षौंदेखि श्रम स्वीकृतिको नाममा भोग्नुपरेको झन्झट र ठगीबाट हजारौं श्रमिकले राहत पाए।
रबीले पार्टी बनाए, डीपीले जोगाए
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट रास्वपाका सभापति रबी लामिछानेलाई रिहा गरियो।
सुरक्षाको कारण देखाउँदै कारागार प्रशासनले पार्टीका शीर्ष नेताहरूलाई जिम्मेवारीसहित कारागारमा बोलायो। पार्टी सभापतिलाई लिन नख्खु कारागार पुगेका कार्यकर्ता र समर्थकहरूमा उत्साह थियो । कसैले नारा लगाइरहेका थिए, कसैले मोबाइल उठाएर त्यो क्षण कैद गरिरहेका थिए।
तर उपसभापति अर्याल भने असामान्य रूपमा शान्त थिए, र भावुक पनि।
जब रबी कारागार बाहिर आए, उनले रबीलाई अँगाले । त्यो अँगालो केही क्षणमै आँसुले भरियो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ, अर्याल रबीलाई समाउँदै रोइरहेका छन्।
त्यो आँसु केवल एउटा नेताको रिहाइको खुशी मात्र थिएन । त्यो आँसु भित्र लुकेको थियो, चिन्ता, तनाव र केही समयअघि सम्मको अनिश्चितता।
त्यो समय देशभर आगजनी र तोडफोड भइरहेका थिए । सडकमा तनाव थियो, अवस्था अस्थिर थियो । तर रबी भने जेलभित्र थिए।
सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले भनेका थिए, यदि केही समय अझ ढिलो भएको भए, सायद हामीले रबीलाई गुमाउने थियौं । त्यसैले त्यो भेटमा उनी भावविह्ल भएका थिए।
तर त्यो समय अर्यालको भूमिका केवल भावुक साथीको मात्र थिएन । उनले अर्को ठूलो जिम्मेवारी पनि सम्हालिरहेका थिए, पार्टी जोगाउने जिम्मेवारी।
रबी जेल परेपछि धेरैले अनुमान गरेका थिए, “अब रास्वपा सकियो ।” तर अर्यालले त्यो अनुमानलाई सत्य हुन दिएनन्।
सडकमा भएको आन्दोलनदेखि संसदको बहससम्म उनले पार्टीको उपस्थितिलाई कमजोर हुन दिएनन् । बीचमा पार्टीका केही दिग्गज नेताहरू एकपछि अर्को गर्दै बाहिरिए । कतिपयले पार्टीको भविष्यप्रति नै प्रश्न उठाए । तर अर्याल न त निराश भए, न त हराए।
उनले न पदको दुरुपयोग गरे, न त परिस्थितिको फाइदा उठाएर पार्टीभित्र शक्ति केन्द्र बन्न खोजे । बरु उनले पार्टीलाई सम्हाल्दै, व्यवस्थित गर्दै, अझ सशक्त बनाउँदै लगे।
र अन्तत : जब रबी कारागारबाट बाहिर आए, पार्टी कमजोर होइन, अझ व्यवस्थित अवस्थामा थियो। त्यसैले आज पनि पार्टीभित्र धेरै नेता र कार्यकर्ताहरू एउटा वाक्य दोहोर्याउँछन्, “रबीले पार्टी बनाए, डीपीले जोगाए।”
आर्थिकन्यूज