शीर्षकहरू

पर्सामा रास्वपाको जितपछि सभापति पन्तद्वारा मतदातालाई धन्यवाद, परिवर्तनको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता

पर्सामा रास्वपाको जितपछि सभापति पन्तद्वारा मतदातालाई धन्यवाद, परिवर्तनको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरि पन्तले प्रतिनिधिसभा निर्वाचनमा आफू सहित जिल्लाका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरू विजयी भएपछि मतदाता, शुभचिन्तक र पार्टीका नेता–कार्यकर्ताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। पन्तले एक धन्यवाद तथा शुभकामना सन्देश जारी गर्दै पर्सावासी जनताको विश्वास र समर्थनले नयाँ राजनीतिक परिवर्तनको ढोका खुलेको बताएका छन्।

सन्देशमा पन्तले पर्सा जिल्लाका मतदाताले देखाएको विश्वासप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै यसलाई परिवर्तनको चाहनाको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्। उनले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा आफू निर्वाचित हुन पाउनुका साथै जिल्लाका चारै क्षेत्रमा रास्वपाका उम्मेदवारलाई विजयी गराउनुमा जनताको ठूलो भूमिका रहेको बताएका छन्।

“पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा मलाई निर्वाचित गराउनुका साथै जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई विजय गराउनु हुने सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा परिवारका सदस्यहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु,” पन्तले सन्देशमा उल्लेख गरेका छन्।

उनले जनताको साथ, सहयोग र मार्गदर्शनका कारण देशभर परिवर्तनको लहर सुरु भएको दाबी गर्दै यसलाई संस्थागत गर्ने जिम्मेवारी अब निर्वाचित जनप्रतिनिधिहरूको काँधमा आएको बताए। पन्तका अनुसार अबको प्रमुख लक्ष्य भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गर्दै सुशासन र विधिको शासन स्थापना गर्नु हो।

“तपाईंहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामी देशभर परिवर्तनको लहर ल्याउन सफल भएका छौं। अब यो परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार र कुशासन अन्त्य गरी देशलाई सही दिशामा अघि बढाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ,” उनले भने।

पन्तले आगामी दिनहरूमा देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन जनताको निरन्तर सहयोग, सुझाव र आशीर्वाद आवश्यक रहने पनि बताएका छन्। उनले जनप्रतिनिधिका रूपमा जनताको अपेक्षा र विश्वासलाई सम्मान गर्दै जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले विजय हासिल गरेका छन्। पर्सा–१ मा हरि पन्त निर्वाचित भएका छन् भने पर्सा–२ मा सुशील कुमार कानु, पर्सा–३ मा रमाकान्त चौरसिया र पर्सा–४ मा टेक बहादुर शाक्य विजयी भएका छन्। उनीहरूले उल्लेखनीय मतान्तरका साथ जीत हासिल गरेका हुन्।

समानुपातिक तर्फ पनि पर्सा जिल्लामा रास्वपा नै पहिलो पार्टी बनेको बताइएको छ। जिल्लाभर पार्टीले हासिल गरेको यो सफलता राजनीतिक विश्लेषकहरूले नयाँ राजनीतिक शक्तिको उदय र जनताको परिवर्तनप्रतिको चाहनाको संकेतका रूपमा व्याख्या गरेका छन्।

विश्लेषकहरूका अनुसार पर्सामा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा विस्तार भएको छ। स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म भ्रष्टाचारविरुद्धको अभियानलाई बल पुग्ने अपेक्षा गरिएको छ। पार्टीका अन्य नेताहरूले पनि पन्तले जारी गरेको धन्यवाद सन्देशलाई समर्थन गर्दै आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्न पार्टी एकजुट भएर अघि बढ्ने बताएका छन्।