शीर्षकहरू

रेमिट्यान्समा उछालसँगै बाह्य क्षेत्र मजबुत : चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

रेमिट्यान्समा उछालसँगै बाह्य क्षेत्र मजबुत : चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालका बाह्य आर्थिक सूचकहरू उल्लेख्य रूपमा सुधारिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता र शोधनान्तर दुवै उच्च बचतमा पुगेका छन् भने विदेशी मुद्रा सञ्चिति १८ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।

प्रतिवेदनअनुसार माघ मसान्तसम्म चालु खाता रु चार खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ८४ अर्ब १४ करोडले बचतमा थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष एक अर्ब ३७ करोड डलर बचत रहेको चालु खाता यस वर्ष तीन अर्ब ४७ करोड डलर बचतमा पुगेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु ११ अर्ब ४३ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु पाँच अर्ब ८३ करोड थियो। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १० अर्ब २२ करोड भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु सात अर्ब ४३ करोड थियो।

शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधारिएको छ। माघ मसान्तसम्म शोधनान्तर रु पाँच खर्ब ७२ अर्ब ७३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो बचत रु दुई खर्ब ८४ अर्ब ४१ करोड थियो।

विदेशी मुद्रा सञ्चितिमा पनि उल्लेख्य वृद्धि भएको छ। गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा २३.३ प्रतिशतले बढेर रु ३३ खर्ब दुई अर्ब ६६ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २२ अर्ब ७६ करोड पुगेको छ।

कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा सञ्चिति रु २४ खर्ब १४ अर्ब ६४ करोडबाट बढेर रु २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति रु दुई खर्ब ६३ अर्ब चार करोडबाट बढेर रु तीन खर्ब ७५ अर्ब ६७ करोड पुगेको छ। कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको छ।

सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण ३९.८ प्रतिशतले बढेर रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण वृद्धि ७ प्रतिशत मात्र थियो।

गत माघ महिनामा मात्र रु एक खर्ब ९८ अर्ब आठ करोड बराबर रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा रु एक खर्ब ३७ अर्ब ५० करोड थियो। अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स ३३ प्रतिशतले बढेर आठ अर्ब ८६ करोड पुगेको छ। यसैगरी, खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ४५ हजार १५३ पुगेको छ भने पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.१६ प्रतिशत थियो। खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.६६ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.८६ प्रतिशत थियो।

खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.६३ प्रतिशत, घ्यू तथा तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले बढेको छ। यता दाल तथा गेडागुडी, खाद्य तथा खाद्यजन्य पदार्थ तथा मरमसला समूहको मूल्य भने घटेको छ।

प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढी ५.१४ प्रतिशत मुद्रास्फीति रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम १.६२ प्रतिशत रहेको छ। काठमाडौँ उपत्यकामा मुद्रास्फीति ३.४८ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।