शीर्षकहरू

निक्षेप बढ्यो, कर्जा सुस्त: बैंकमा पैसा थुप्रिँदा अर्थतन्त्रमा लगानीको खडेरी

कृषि कर्जा घट्यो तर उपभोग कर्जा दोहोरो अंकले बढ्यो

निक्षेप बढ्यो, कर्जा सुस्त: बैंकमा पैसा थुप्रिँदा अर्थतन्त्रमा लगानीको खडेरी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। तर यो वृद्धि अघिल्लो वर्षको ५.६ प्रतिशतको तुलनामा उल्लेख्य रूपमा सुस्त देखिन्छ। यसले अर्थतन्त्रमा लगानी र उत्पादन क्षेत्रको माग कमजोर रहेको संकेत गर्छ।

अर्कोतर्फ बैंकिङ प्रणालीमा निक्षेप भने तीव्र गतिमा बढिरहेको छ। माघसम्म कुल निक्षेप ६ प्रतिशत अर्थात् ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ। वार्षिक आधारमा निक्षेप १४.९ प्रतिशतले बढ्नुले बैंकहरूमा तरलता पर्याप्त रहेको देखाउँछ, तर उक्त तरलता कर्जा विस्तारमा रूपान्तरण हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कर्जा वृद्धि अघिल्लो वर्षको तुलनामा सुस्त देखिएको छ।वार्षिक विन्दुगत आधारमा भने माघ मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ।

क्षेत्रगत रूपमा हेर्दा उपभोग्य क्षेत्रमा कर्जा १०.६ प्रतिशतले बढेको छ। निर्माण क्षेत्रमा ८.७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ६.८ प्रतिशत वृद्धि भएको छ। औद्योगिक उत्पादन क्षेत्रमा ४.८ प्रतिशत र सेवा उद्योग क्षेत्रमा १.१ प्रतिशतले वृद्धि भएको छ।

तर उत्पादनसँग प्रत्यक्ष सम्बन्धित कृषि क्षेत्रमा कर्जा १.४ प्रतिशतले घट्नु चिन्ताजनक संकेत हो। वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा पनि १.९ प्रतिशतले कर्जा घटेको छ। यसले उत्पादनमुखी लगानी अझै कमजोर रहेको देखाउँछ।

कुल कर्जामध्ये ६३.८ प्रतिशत कर्जा घरजग्गा धितोमा आधारित रहेको छ। यद्यपि अघिल्लो वर्षको ६५.१ प्रतिशतबाट केही घटेको देखिए पनि बैंकिङ प्रणाली अझै पनि रियल इस्टेट धितोमा निर्भर रहेको देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कुल कर्जामध्ये १५ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा रहेको छ भने ६३.८ प्रतिशत कर्जा घरजग्गा धितोमा आधारित रहेको छ। अघिल्लो वर्ष यस्तो हिस्सा क्रमशः १४.४ प्रतिशत र ६५.१ प्रतिशत थियो।

कर्जाको प्रकृतिअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशतले बढेको छ। मार्जिन कर्जा ११ प्रतिशत, हायर पर्चेज कर्जा ९.३ प्रतिशत, आवधिक कर्जा ३.१ प्रतिशत, रियल इस्टेट कर्जा २.५ प्रतिशत, क्यास क्रेडिट कर्जा २.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा १.८ प्रतिशतले बढेको छ। अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने ३.४ प्रतिशतले घटेको छ। मार्जिन कर्जा  र हायर पर्चेज कर्जा बढ्नु उपभोग र सवारी साधन खरिदतर्फ झुकाव बढेको संकेत हो।

माघ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.४ प्रतिशत हिस्सा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो हिस्सा क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत थियो।

समीक्षा अवधिमा कर्जा प्रवाह वाणिज्य बैंकबाट ४.२ प्रतिशत, विकास बैंकबाट ३ प्रतिशत र वित्त कम्पनीबाट १.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पनि उल्लेख्य रूपमा बढेको छ। माघ मसान्तसम्म कुल निक्षेप ६ प्रतिशत (४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ) ले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप ३.८ प्रतिशतले बढेको थियो।

वार्षिक विन्दुगत आधारमा भने माघ मसान्तसम्म निक्षेप १४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

कुल निक्षेप संरचनामा चल्ती निक्षेप ६.५ प्रतिशत, बचत निक्षेप ४२.८ प्रतिशत र मुद्दती निक्षेप ४१.६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो हिस्सा क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत थियो।यसले ब्याजदर घट्दै जाँदा दीर्घकालीन निक्षेपको आकर्षण कम भएको देखाउँछ।

माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमध्ये संस्थागत निक्षेपको हिस्सा ३४.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो हिस्सा ३५.३ प्रतिशत थियो।