काठमाडौं । स्नो रिभर्स लिमिटेडले आगामी चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ १८ गते उक्त आईपीओ निष्काशनका लागि स्वीकृति दिएको थियो।
कुल निष्काशनमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता शेयर छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रतर्फ छुट्याइएको शेयरमध्ये ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ का अति प्रभावित स्थानीयका लागि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ। त्यस्तै सिरिजङ्गा गाउँपालिका–१ देखि ७, सिदिङ्वा गाउँपालिका–५ र ६, पाथीभरा याङवारक गाउँपालिका–५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–१ का स्थानीय बासिन्दाका लागि पनि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको कम्पनीले जनाएको छ।
आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। विदेशमा कार्यरत नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।
आयोजना प्रभाविततर्फको आईपीओ छिटोमा चैत २३ गते बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा वैशाख ८ गतेसम्म म्याद थपिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म खुला रहनेछ।
आयोजना प्रभावित स्थानीयले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा–८ याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंकको सिरिजङ्गा शाखा तथा एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
आर्थिकन्यूज