काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले ७० करोड रुपैयाँ जारी पुँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्यका २८ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये ७ लाख कित्ता (७ करोड रुपैयाँ बराबर) शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
उक्त शेयरमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यसैगरी सर्वसाधारणलाई छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकका जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। साथै आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, सि–आस्बा प्रणाली वा मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको छ।
आर्थिकन्यूज