काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्था उल्लंघन गरेको पाइएपछि बोर्डले उक्त कारबाही गरेको हो।
सेबोनका अनुसार सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्युरिटिजलाई ३० लाख रुपैयाँ र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रुपैयाँ जरिवाना गरिएको छ।
बोर्डले जनाएको अनुसार सिप्ला सेक्युरिटिजलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम ५० लाख रुपैयाँ जरिवाना गरिएको हो।
त्यस्तै, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई पनि सोही ऐनअनुसार ३०/३० लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार सम्बन्धित कम्पनीहरूले ऐनमा व्यवस्था गरिएको वित्तीय निगरानी तथा प्रतिवेदन सम्बन्धी प्रावधान पालना नगरेको पाइएपछि कारबाही गरिएको हो।

आर्थिकन्यूज