काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबाट शेयर बजारमा प्रवाह हुने कर्जामा वृद्धि भइरहँदा विशेषगरी ठूला लगानीकर्ताले लिने ऋणको हिस्सा उल्लेख्य रूपमा बढेको देखिएको छ। यसले बजारमा तरलता बढाउन सहयोग गरे पनि ऋणमा आधारित लगानी विस्तार हुँदा बजारमा उतारचढाव र जोखिम बढ्न सक्ने संकेत देखिएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको वित्तीय विवरण अनुसार शेयर धितो कर्जा (मार्जिन नेचर लोन) ११ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार २०८२ साउनदेखि २०८२ फागुनसम्म मार्जिन कर्जा १५ अर्ब ४५ करोड २६ लाख रुपैयाँले बढेर कुल १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यसले पूँजीबजारमा लगानीकर्ताको सक्रियता र वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह कायम रहेको देखाउँछ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने मार्जिन कर्जामा २७.८ प्रतिशतको उच्च वृद्धि भएको थियो। सो अवधिमा कुल २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ थपिएको थियो। तुलनात्मक रूपमा यस वर्ष वृद्धिदर ११ प्रतिशतमा सीमित भए पनि कर्जाको कुल आकार ठूलो भएकाले बजारमा यसको प्रभाव अझै महत्त्वपूर्ण मानिएको छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार मार्जिन नेचर लोनलाई चार मुख्य श्रेणीमा विभाजन गरिएको छ। तीमध्ये १ करोड रुपैयाँभन्दा बढीका कर्जाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ।
चालु आर्थिक वर्षको सात महिनामा १ करोडभन्दा माथिका कर्जामा १० अर्ब ७५ करोड २७ लाख रुपैयाँ वृद्धि भएको छ। यसले ठूला लगानीकर्ता तथा संस्थागत खेलाडीहरूले ऋण प्रयोग गरेर बजारमा लगानी विस्तार गरिरहेको संकेत गर्छ।
त्यस्तै ५० लाखदेखि १ करोड रुपैयाँसम्मका कर्जामा २ अर्ब ४८ करोड २७ लाख रुपैयाँ वृद्धि भई कुल १८ अर्ब ५१ करोड २५ लाख रुपैयाँ पुगेको छ। यो १५.५ प्रतिशत वृद्धि हो, जुन कुल वृद्धिमध्ये दोस्रो ठूलो हिस्सा हो।
मार्जिन कर्जामा ठूला कर्जाको बाहुल्यता रहनुले शेयर बजारमा दुई प्रकारका प्रभाव देखिन सक्छ। एकातिर यसले बजारमा तरलता बढाउन र कारोबारको मात्रा विस्तार गर्न सहयोग गर्छ। अर्कोतर्फ ठूला लगानीकर्ताले बढी ऋण प्रयोग गर्दा बजारमा उतारचढाव र जोखिम पनि बढ्न सक्छ।
यद्यपि यस वर्षको ११ प्रतिशत वृद्धिदर अघिल्लो वर्षभन्दा कम भए पनि कर्जाको कुल आकार निरन्तर बढिरहनुले बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको देखाउँछ।
यस अवधिमा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मका कर्जा ९.५ प्रतिशतले बढेर १९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यस श्रेणीमा १ अर्ब ६६ करोड ८३ लाख रुपैयाँ थपिएको देखिन्छ।
साना लगानीकर्ताले लिने २५ लाख रुपैयाँभन्दा कमका कर्जा ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ पुगेका छन्को छ। यसमा ५४ करोड ८९ लाख रुपैयाँ वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
विश्लेषकहरूका अनुसार पूँजीबजारको विकासका लागि कर्जा प्रवाह आवश्यक भए पनि जोखिम व्यवस्थापन, नियामकीय निगरानी र सन्तुलित कर्जा वितरण उत्तिकै महत्त्वपूर्ण हुन्छ। अन्यथा अत्यधिक ऋणमा आधारित लगानीले बजारको स्थायित्वमा असर पार्न सक्छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले शेयर बजारमा मार्जिन कर्जाको निरन्तर वृद्धि, विशेषगरी ठूला कर्जाको प्रमुख हिस्सा, र त्यसले बजारको गतिशीलता तथा जोखिममा पार्ने प्रभावलाई स्पष्ट रूपमा देखाएको छ।
आर्थिकन्यूज