शीर्षकहरू

औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम

औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् ।

गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् ।

उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन कम्तीमा लेबल ३ वा ४ मा स्तरोन्नति गर्नुपर्ने धारणा राखिन् ।

उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

उनले नेपालमा पाइने जडीबुटीको ठूलो स्रोत हिमाली क्षेत्रमा रहेको बताउँदै जुम्लास्थित मेडिकल कलेज तथा अनुसन्धान संस्थानहरूमा आयुर्वेदिक क्षेत्रमा अनुसन्धान र खोजलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याइन् ।

मन्त्रीका अनुसार हाल नेपालका अधिकांश औषधि उद्योग र प्रयोगशालाहरू बारा, पर्सा र गण्डकी प्रदेशमा केन्द्रित छन् । अब आयुर्वेदिक औषधि उत्पादनलाई पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशतर्फ विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

उनले आधुनिक तथा आयुर्वेदिक दुवै प्रकारका औषधि उत्पादन नेपालमै विस्तार गर्ने दीर्घकालीन योजना रहेको पनि बताइन् ।

मन्त्री गौतमले नेपाललाई औषधि उत्पादन र जडीबुटी अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने सम्भावना रहेको उल्लेख गर्दै भविष्यमा देशलाई औषधिमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको बताइन् ।