काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत सेवा दिने अस्पताल तथा स्वास्थ्य संस्था नियमनको उल्लंघन नगर्न कडा चेतावनी दिएको छ। केही अस्पतालले बीमितलाई आफ्नै फार्मेसीबाट औषधि नदिई निजी पसलबाट खरिद गर्न लगाउने क्रम बढेपछि बोर्डले यस्तो निर्देशन जारी गरेको हो।
बोर्डको सूचनाअनुसार, कतिपय स्वास्थ्य संस्थाले बीमितलाई सूचीबद्ध औषधि र स्वास्थ्य सामग्री उपलब्ध नगराई बाहिर नगदमा किन्न बाध्य पारिएको पाइएको छ। बोर्डले यसलाई स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५ र प्रचलित निर्देशिकाको प्रत्यक्ष उल्लंघन ठहर गरेको छ।
नियम उल्लङ्घनमा कारबाही:
बोर्डका नीति योजना शाखा प्रमुख एवं वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहले भने, “अनुगमनमा कुनै संस्थाबाट नियमविपरीत काम भएको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ अनुसार कडा कारबाही गरिनेछ।”
बोर्डले सबै सेवा प्रदायक अस्पताल र स्वास्थ्य केन्द्रलाई अबदेखि नियमपालना गर्न आग्रह गर्दै, उल्लंघन गर्ने संस्थासँगको बीमा सम्झौता रद्द हुने सम्भावनाबारे पनि सचेत गराएको छ।

आर्थिकन्यूज