काठमाडौँ। धितोपत्र बजारको आकार विस्तार हुँदै गए पनि अर्थतन्त्रसँगको यसको अनुपात भने घट्दै गएको देखिएको छ। चालु आर्थिक वर्षको सात महिनासम्ममा बजार पुँजीकरण बढेर ४४ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ पुगे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सापेक्ष यसको हिस्सा घटेको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांकअनुसार २०८२ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष २०८१ माघ मसान्तमा भने बजार पुँजीकरण ४४ खर्ब ५८ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।
तर जीडीपीसँग तुलना गर्दा बजारको अनुपात घटेको देखिन्छ। २०८१ माघमा कुल गार्हस्थ्य उत्पादनको ७८.०९ प्रतिशत बराबर रहेको बजार पुँजीकरण २०८२ माघमा घटेर ७३.४३ प्रतिशतमा झरेको छ।
यस अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक पनि सामान्य घटेको छ। २०८१ माघ मसान्तमा २६८५.७३ रहेको सूचकांक २०८२ माघ मसान्तमा २६७१.०७ विन्दुमा कायम भएको छ।
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या भने बढेको छ। २०८१ माघमा २६८ कम्पनी रहेकोमा २०८२ माघ मसान्तसम्म २८४ पुगेको छ। तीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन्। त्यस्तै २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी सूचीकृत छन्।
पुँजीकरणको संरचना हेर्दा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा ठूलो ५१.७ प्रतिशत रहेको छ। जलविद्युत कम्पनीहरूको हिस्सा १६ प्रतिशत, लगानी कम्पनीहरूको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७ प्रतिशत, व्यापारिक संस्थाको ४.७ प्रतिशत तथा होटल क्षेत्रको ३.२ प्रतिशत रहेको छ। अन्य समूहका कम्पनीहरूको हिस्सा १०.१ प्रतिशत छ।
राष्ट्र बैंकका अनुसार २०८२ माघ मसान्तसम्म नेप्सेमा सूचीकृत ९ अर्ब २३ करोड कित्ता सेयरको चुक्ता मूल्य ९ खर्ब ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर, ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य धितोपत्र गरी कुल ५० अर्ब ९४ करोड रुपैयाँ बराबरका थप धितोपत्र बजारमा सूचीकृत भएका छन्।
यसैबीच नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा १३ अर्ब १३ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ६ अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँ बराबरको डिबेन्चर र ५ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल २४ अर्ब ४२ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको जनाएको छ।
आर्थिकन्यूज