शीर्षकहरू

रौतहटमा आँपको मोजरले ढकमक्क रूखहरू : उत्पादन बढ्ने आशामा किसान

रौतहटमा आँपको मोजरले ढकमक्क रूखहरू : उत्पादन बढ्ने आशामा किसान

रौतहट । यस वर्ष रौतहट जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रहरूमा आँपका रूखहरू मोजर (मन्जरी) ले ढकमक्क भरिएका छन् । मौसमले साथ दिएको र उचित समयमा मोजर पलाएका कारण विगतका वर्षहरूको तुलनामा यसपालि आँपको उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ।
जिल्लाका निजी बगैँचा मात्र होइन, सरकारी कार्यालय परिसरमा रहेका

आँपका रूखहरू समेत यतिबेला मोजरले पहेंलपुर देखिएका छन् । ईलाका प्रहरी कार्यालय गरुडा बजारको परिसरमा रहेका ठूला आँपका रूखहरू मोजरले ढकमक्क भएपछि कार्यालयको वातावरण नै सुगन्धित र मनमोहक बनेको छ ।

यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको मुख्य व्यापारिक केन्द्र चन्द्रपुर–४, ट्राफिक चोक आसपास रहेका रूखहरूमा पनि यो वर्ष निकै राम्रोसँग मोजर लागेको छ । राजमार्ग भएर हिँड्ने यात्रु र स्थानीयहरूका लागि यो दृश्य आकर्षक बनेको छ ।

चन्द्रपुर–४ का स्थानीय बासिन्दा सरोज मिश्रका अनुसार, यस वर्ष आँपका रूखहरूमा लागेको मोजरको अवस्था हेर्दा उत्पादनमा उल्लेख्य सुधार हुने संकेत देखिएको छ । ‘विगतका केही वर्षहरूमा रोग र बेमौसमी वर्षाका कारण आँप सोचेजस्तो फलेन, तर यसपालि अहिलेसम्मको स्थिति निकै उत्साहजनक छ,’ मिश्रले भने ।

रौतहटका प्रायः सबै गाउँठाउँमा अहिले आँपको सुगन्ध फैलिएको छ । स्थानीय किसानहरूका अनुसार यदि अबका दिनमा हावाहुरी, असिनापानी जस्ता प्राकृतिक प्रकोप नभएमा र तापक्रम सन्तुलित रहेमा यो वर्ष जिल्लाले आँप उत्पादनमा नयाँ रेकर्ड बनाउन सक्छ ।

कृषि विज्ञहरूका अनुसार मोजर लागेको यो समयमा कीराको प्रकोप (विशेषगरी हपर कीरा) बाट जोगाउन किसानहरू सचेत हुनुपर्छ । मोजर टिकाइराख्न र साना दानाहरू लाग्ने प्रक्रियालाई सहज बनाउन हल्का सिँचाइ र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा औषधि छर्कन सुझाव दिइएको छ ।

रौतहटको मालदह, कलकतिया, दसहरी र आम्रपाली जस्ता जातका आँप तराई क्षेत्रमा निकै लोकप्रिय छन् । यस वर्षको राम्रो मोजरले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।