काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी युनियनले आफ्ना माग पूरा नभएको भन्दै फेरि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। युनियनले आज एक विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले मागप्रति बेवास्ता गरेको भन्दै आगामी दिनमा हरेक बिहान धर्ना र पेन डाउन कार्यक्रम सञ्चालन हुने जनाएको छ।
“प्रतिनिधि सभाको चुनावका कारण केही समय स्थगित गरिएको दैनिक १ घण्टाको धर्ना र पेन डाउन कार्यक्रम फागुन २८ गतेदेखि पुनः प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने निर्णय कार्यसमितिले गरेको छ।”विज्ञप्तिमा भनिएको छ।
पेन डाउन कार्यक्रममा कर्मचारी कार्यालयमा उपस्थित रहिरहने भए पनि कामकाज ठप्प हुने गर्दछ। युनियनले बोर्ड व्यवस्थापनसँग तत्काल वार्ता गरेर समस्याको समाधान गर्न आग्रह गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।

आर्थिकन्यूज