काठमाडौँ। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले आफ्नो केन्द्रीय र प्रदेश महासंघको साधारणसभा मिति तोक्न आगामी ५ चैतमा कार्यकारिणी समितिको बैठक डाक्ने निर्णय गरेको छ।
बुधबार बसेको महासंघ पदाधिकारीको बैठकले उक्त निर्णय गर्दै बैठकबाट प्रदेश र केन्द्रीय महासंघको साधारणसभाको मिति तय गर्ने व्यवस्था गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। यसअघि २४ माघदेखि २ फागुनसम्म सातवटै प्रदेश महासंघको साधारणसभा सम्पन्न गर्ने योजना थियो, तर निर्वाचन आचारसंहिताका कारण निर्वाचन आयोगले अनुमति नदिँदा सभाहरू रोकिएका थिए।
महासंघको विधान अनुसार केन्द्रीय साधारणसभा चैत २८ र २९ मा हुनुपर्ने व्यवस्था छ। तर प्रदेशको साधारणसभा केन्द्रको सभा अघि कम्तीमा एक महिनाअघि सम्पन्न हुनुपर्छ र सूचना २१ दिनअघि सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। यस आधारमा चैत ५ मा बस्ने कार्यकारिणी समितिको बैठकले प्रदेश महासंघको साधारणसभा मिति तोक्ने र त्यसपछि एक महिनापछि केन्द्रीय सभा हुने गरी तालिका निर्धारण गर्ने स्रोतले जनाएको छ।
यसपटक महासंघमा केन्द्र र प्रदेश पदाधिकारीको निर्वाचन पनि हुने भएकाले साधारणसभामा विशेष चासो रहेको छ। पदाधिकारीका प्रत्याशीहरूले समूह बनाएर निर्वाचन तयारी सुरु गरिसकेका छन्। यसरी महासंघको साधारणसभा आगामी महिनाभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज