शीर्षकहरू

पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमति

पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमति

काठमाडौं। सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न अनुमति दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ नेपाल राजपत्रमा प्रकाशित गरेको छ।

आदेशअनुसार इथानोल उत्पादनका लागि चिनी उद्योगको खुँदो, नेपियर घाँस, पराल, मकैको खोया, गहुँको छ्वाली र अन्य कृषि/वनजन्य अवशेष प्रयोग गर्न सकिनेछ। तर, खाने योग्य खाद्यान्न इथानोल उत्पादनमा प्रयोग गर्न कडा प्रतिबन्ध लगाइएको छ।

नेपाल आयल निगमलाई इथानोल खरिद, बिक्री र वितरणमा एकाधिकार दिइएको छ। निगमले प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउन सक्नेछ। गुणस्तर परीक्षण अनिवार्य गरिएको छ र गुणस्तरहीन इथानोल खरिद–बिक्री पूर्णत: रोकिएको छ।

साथै, मन्त्रालयले इथानोल उत्पादन, भण्डारण, ढुवानी र मिश्रणका लागि सुरक्षा मापदण्ड जारी गर्नेछ। आदेश कार्यान्वयनको निगरानी र मूल्य निर्धारणका लागि उच्चस्तरीय सिफारिस समिति गठन गरिनेछ।

सरकारको उद्देश्य स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रोत्साहन गर्नु, रोजगारी सिर्जना गर्नु र पेट्रोलियम आयात घटाउनु रहेको छ।