शीर्षकहरू

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, ४ लाख ५० हजारले पाए १० कित्ता

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, ४ लाख ५० हजारले पाए १० कित्ता

काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर निष्कासन गरेको थियो। सो आईपीओमा २४ लाख १३ हजार ५ सय १७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए।

नबिल इन्भेष्टमेन्टका अनुसार २३ लाख ७६ हजार ७ सय ५ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको हो। त्यसअनुसार ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक खाली हात भएका छन्। आईपीओको नतिजा केही समयपछि सार्वजनिक गरिने बताइएको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ९ गते आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्कासन गरेको हो।

सन् २००९ मा स्थापना भएको कम्पनीको उद्योग नवलपरासीमा रहेको छ। कम्पनीले ‘तानसेन’ ब्रान्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीमा आरएमसी समूहको लगानी रहेको छ।