शीर्षकहरू

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सोपान फर्मास्यूटिकल्सको आईपीओ चैत ९ देखि

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सोपान फर्मास्यूटिकल्सको आईपीओ चैत ९ देखि

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। त्यसको १० प्रतिशत अर्थात ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि छुट्याएको छ। बाँकी ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओका लागि केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष तथा डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ र आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको जनाएको छ।