शीर्षकहरू

बैंकिङ क्षेत्रमा ब्याजदर घट्दो ट्रेन्डमा : कर्जाको माग अपेक्षाकृत कमजोर

बैंकिङ क्षेत्रमा ब्याजदर घट्दो ट्रेन्डमा : कर्जाको माग अपेक्षाकृत कमजोर

काठमाडौं । पछिल्लो केहि वर्ष यतादेखि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा देखिएको छ । बैंकिङ क्षेत्रमा तरलताको अवस्था सहज रहेकाले आधार दर, निक्षेप तथा कर्जाको ब्याजदरमा निरन्तर गिरावट आएको छ ।

बैंक तथा वित्तीय संस्थाको भारित औसत ब्याजदर पछिल्लो एक वर्षमा उल्लेख्य रुपमा घटेको देखिन्छ । २०८१ माघको तुलनामा २०८२ माघमा औसत ब्याजदरमा मात्र नभई ट्रेजरी बिल, अन्तरबैंक दर, निक्षेप र कर्जाको ब्याजदर लगायतका अधिकांश सूचक घटेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको आधार दर घटेर ५.१२ प्रतिशतमा झरेको छ । २०८१ माघमा ६.४६ प्रतिशत रहेकामा २०८२ माघमा घटेर ५.१२ प्रतिशतमा झरेको छ । विकास बैंकको आधार दर ८.५२ प्रतिशतबाट ७.१९ प्रतिशतमा झरेको छ भने वित्त कम्पनीको ९.३९ प्रतिशतबाट घटेर ७.८९ प्रतिशतमा पुगेको छ ।

आधार दर बैंकहरुको कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख सूचक भएकाले यसको गिरावटले आगामी दिनमा कर्जाको ब्याजदर थप घट्ने सम्भावना देखिन्छ । आधार दरमा आएको गिरावटले बैंकहरुको कोष लागत कम भएको संकेत पनि गर्छ ।

अर्थविद्हरुका अनुसार बैंकिङ प्रणालीमा निक्षेप तीव्र रुपमा बढ्दै गएको तर कर्जाको माग अपेक्षाकृत कमजोर रहेकाले ब्याजदर घट्ने अवस्था बनेको हो। पछिल्लो तथ्यांकले पनि बैंकहरूमा निक्षेप वृद्धि उच्च रहे पनि निजी क्षेत्रमा कर्जाको विस्तार तुलनात्मक रूपमा सुस्त रहेको देखाउँछ।

यस्तै निक्षेपको ब्याजदर पनि घटेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर ४.६२ प्रतिशतबाट घटेर ३.५१ प्रतिशतमा झरेको छ । विकास बैंकमा ५.४१ प्रतिशतबाट ३.९७ प्रतिशत र वित्त कम्पनीमा ६.४७ प्रतिशतबाट ५.०१ प्रतिशतमा झरेको छ।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूको कोष संकलन लागत कम हुन्छ, जसले कर्जाको ब्याजदर घटाउन बैंकहरुलाई थप सहज बनाउने विश्लेषण गरिएको छ। तर निक्षेपकर्ताका लागि भने बचतबाट प्राप्त हुने प्रतिफल घट्ने अवस्था सिर्जना भएको छ।

यस्तै कर्जाको ब्याजदर पनि घट्दो क्रममा रहेको छ। वाणिज्य बैंकमा ८.५५ प्रतिशतबाट घटेर ७.०० प्रतिशत पुगेको छ। विकास बैंकमा ९.९० प्रतिशतबाट ८.३० प्रतिशत र वित्त कम्पनीमा १०.८८ प्रतिशतबाट ९.५६ प्रतिशतमा झरेको छ।

कर्जाको ब्याजदर घट्नुले निजी क्षेत्रको लगानी र आर्थिक गतिविधिमा केही प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ । तर बजारमा कर्जा माग नुहँदा बैंकिङ क्षेत्रमा झण्डै १२ खर्ब लगानीयोग्य रकम रहेको छ । भने बैंकहरुले लगानी गर्न नसकेको करिब ९ खर्ब रुपैयाँ राष्ट्र बैंकले जारी गर्ने विभिन्न उपकरणहरुमा लगानी गरेका छन् । 

निक्षेप बढेसँगै बैंकहरुमा लगानीयोग्य रकम बढेको छ। तर उद्योग–व्यवसाय र निजी क्षेत्रबाट कर्जाको माग अपेक्षित रुपमा नबढ्दा बैंकहरूले कर्जा प्रवाह बढाउन ब्याजदर घटाउने रणनीति अपनाइरहेका छन्। यसले कर्जाको लागत घटाएर ऋण लिन प्रोत्साहन गर्ने उद्देश्य राखिएको विश्लेषण गरिएको छ।

अर्थविद्हरुका अनुसार निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि सुस्त हुँदा कर्जाको माग कमजोर बनेको हो। यदि आर्थिक गतिविधि विस्तार भयो भने आगामी महिनाहरुमा कर्जा वृद्धि दर पनि बढ्न सक्ने सम्भावना रहने उनीहरुको विश्लेषण छ।

यसैबीच अल्पकालीन सरकारी ऋणपत्रको सूचक मानिने ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पनि घटेको छ। २०८१ माघमा २.८६ प्रतिशत रहेको उक्त दर २०८२ माघमा घटेर २.४५ प्रतिशतमा झरेको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तरबैंक दर ३ प्रतिशतबाट घटेर २.७५ प्रतिशतमा पुगेको छ।

विश्लेषकहरूका अनुसार ट्रेजरी बिल र अन्तरबैंक दरमा आएको गिरावटले बैंकिङ प्रणालीमा नगद प्रवाह अपेक्षाकृत सहज भएको देखाउँछ। जब बैंकहरुबीचको अन्तरबैंक दर कम हुन्छ, त्यसले बैंकहरुबीच तरलता अभाव नरहेको संकेत दिन्छ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि दर सुस्त देखिएको छ भने निक्षेप संकलन भने तुलनात्मक रुपमा तीव्र रुपमा बढेको देखिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशत अर्थात २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत अर्थात २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँले बढेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

निक्षेपतर्फ भने वृद्धि दर उल्लेख्य देखिएको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६ प्रतिशत अर्थात ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशत अर्थात २ खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँले मात्र बढेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ।

तथ्यांकले बैंकिङ प्रणालीमा निक्षेप तीव्र रुपमा बढे पनि कर्जाको माग अपेक्षाकृत कमजोर रहेको संकेत गर्छ। यसले बैंकहरुमा तरलता बढी भएको अवस्था देखाउँछ। निक्षेप वृद्धि उच्च हुँदा र कर्जाको विस्तार अपेक्षाकृत सुस्त हुँदा बैंकहरुले कर्जा विस्तार गर्न ब्याजदर घटाउने रणनीति अपनाइरहेका छन्।

आर्थिक गतिविधि सुस्त रहेको, कर्जाको माग अपेक्षाकृत कम भएको र बैंकिङ प्रणालीमा तरलता सञ्चित भइरहेकाले ब्याजदर घट्ने प्रवृत्ति देखिएको अर्थविद्हरू बताउँछन्। उनीहरुका अनुसार यदि यही प्रवृत्ति कायम रह्यो भने आगामी महिनाहरुमा कर्जाको ब्याजदर थप घट्न सक्ने सम्भावना छ, जसले निजी क्षेत्रको लगानी तथा आर्थिक चलायमानता बढाउन सहयोग पु¥याउन सक्छ।

null