काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को सात महिनामा नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत ठूलो परिमाणमा तरलता प्रशोचन गरेको छ । समीक्षा अवधिमा कारोबारमा आधारित कुल ३१५ खर्ब ८६ अर्ब ८५ करोड रुपैयाँ बराबरको खुद तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत १६ खर्ब ६ अर्ब ९५ करोड, स्थायी निक्षेप सुविधामार्फत २९७ खर्ब ९२ अर्ब ४० करोड तथा नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ गरी कुल ३१५ खर्ब ९९ अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको हो।
त्यसैगरी, ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ प्रवाह गरिएको छ। यसरी कुल हिसाबमा खुद ३१५ खर्ब ८६ अर्ब ८५ करोड बराबरको तरलता प्रशोचन भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने मौद्रिक व्यवस्थापनका उपकरणमार्फत १४८ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ मात्र तरलता प्रशोचन गरिएको थियो।
यस्तै समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट ३ अर्ब ९६ करोड अमेरिकी डलर खुद खरिद गरी ५ खर्ब ६४ अर्ब ४ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ८७ करोड डलर खरिद गरी ३ खर्ब ८७ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।
यस अवधिमा २ अर्ब २६ करोड अमेरिकी डलर बिक्री गरी ३ खर्ब २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोड डलर बिक्री गरी ३ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।
त्यसैगरी चालु आर्थिक वर्षको सात महिनामा अन्तरबैंक कारोबार घटेको देखिएको छ। वाणिज्य बैंकहरूबीच ५ खर्ब ५९ अर्ब ८६ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाबीच ७६ अर्ब ३६ करोड रुपैयाँ गरी कुल ६ खर्ब ३६ अर्ब २२ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूको ९ खर्ब ३७ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब २ अर्ब २० करोड गरी कुल १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको थियो।
आर्थिकन्यूज