सन् १९८८ मा कास्कीको घान्द्रुकका एक युवा हातमा सानो झोला, मनमा ठूलो सपना बोकेर पर्यटक भिसामा जापानतिर लागे । ती युवक थिए— रोबिन शेरचन। आज दशकौंपछि, उनी जापानमा सफल व्यवसाय चलाउने नेपाली उद्यमीमध्ये एकका रूपमा चिनिन्छन् । तर यो सफलताको कथा सीधा बाटोबाट आएको होइन।
२०४० सालतिर विद्यालय सकेपछि रोबिन उच्च शिक्षा अध्ययनका लागि काठमाडौ आए । शंकरदेव कलेजमा स्नातक पढ्दै गर्दा उनको जीवनले नयाँ मोड लिन थाल्यो । त्यतिबेला काठमाडौको ठमेल निकै चर्चित थियो । देशका विभिन्न ठाउँबाट काठमाडौ आउनेहरूका लागि ठमेल घुम्नु लगभग अनिवार्य जस्तै थियो । रोबिन पनि साथीभाइसँग समय बिताउन ठमेल पुग्थे।
त्यहाँको एउटा दृश्यले उनलाई बारम्बार सोच्न बाध्य बनायो—विदेशी पर्यटकको भीड । फरक भाषा, फरक पहिरन, फरक संस्कृति । उनी सोच्थे, “यी मानिसहरू कहाँबाट आउँछन ? उनीहरूको देश कस्तो होला ?”
यही जिज्ञासाले उनको मनमा विदेश जाने चाहना जगायो।
यस चाहनालाई थप उर्जा दिए उनका दाजु जोनी शेरचनले । जोनी जापानमा मोडलिङ गर्थे । युवा उमेर, स्टाइलिस जीवनशैली, ब्रान्डेड कपडा—यी सबैले रोबिनलाई आकर्षित ग¥यो । दाजुको प्रेरणाले अन्तत : उनले पनि जापान जाने निर्णय गरे।
त्यतिबेला जापान जान तीन महिनाको पर्यटक भिसा पाइन्थ्यो । रोबिन पनि त्यही भिसामा जापान पुगे । तर उनको योजना त्यहाँ केही समय बस्ने मात्र थिएन । उनले भिसा परिवर्तन गरेर विद्यार्थी भिसा बनाए । त्यसका लागि एकपटक जापान छोड्नुपथ्र्यो । उनी कोरिया गए, फेरि जापान फर्किए—नयाँ सम्भावनाको ढोका खोल्दै।
विद्यार्थी जीवन सजिलो थिएन । बिहान ६ः३० देखि १२ः३० सम्म कलेजको क्लास । त्यसपछि काम । राति दुई बजेसम्म उनी रेस्टुरेन्टको किचनमा पार्टटाइम काम गर्थे । पढाइ, काम, थकान—सबैसँग जुध्दै उनले आफ्नो जीवनको आधार तयार गरिरहेका थिए।
यही क्रममा उनको जीवनमा अर्को अध्याय सुरु भयो । उनले एक जापानी युवतीसँग प्रेम गरे । उनीहरूबीच रुचि, सोच र उद्देश्य मिल्यो । अन्ततः उनीहरूले विवाह गरे।
उनकी श्रीमतीलाई भाषा र संस्कृतिमा विशेष रुचि थियो । त्यसैले दुवैले मिलेर एउटा स्टुडियो खोले—जहाँ विभिन्न देशका भाषा, संस्कृति, खाना र क्राफ्ट सिकाइन्थ्यो । संसारका विभिन्न मुलुकका प्रशिक्षकहरू बोलाइन्थे । केही वर्षमै त्यहाँ सयौं विद्यार्थी भर्ना भए।
तर रोबिनको मनको एउटा कुनामा अझै अर्को सपना थियो—रेस्टुरेन्ट खोल्ने । जापान पुगेपछि सुरुमा उनले रेस्टुरेन्टमै काम गरेका थिए, त्यसैले त्यो क्षेत्र उनलाई आफ्नै जस्तो लाग्थ्यो । तर समय व्यवस्थापन कठिन भएकाले उनले श्रीमतीको चाहना अनुसार स्टुडियो नै चलाइरहे।
जीवन सधैं एउटै लयमा चल्दैन । रोबिनको जीवनमा पनि अचानक ठूलो संकट आयो । उनकी श्रीमतीलाई क्यान्सर भयो । उनले उपचारका लागि धेरै प्रयास गरे । तर सन् २००५ मा क्यान्सरकै कारण उनकी श्रीमतीको मृत्यु भयो।
त्यसपछि रोबिन फेरि एक्लिए।
स्टुडियो एक्लैले चलाउन उनलाई कठिन भयो। त्यसैले उनले आफ्नै विद्यार्थीहरूलाई स्टुडियोको जिम्मा दिए । त्यतिबेला त्यहाँ करिब ५०० विद्यार्थी अध्ययन गरिरहेका थिए।
केही समय आफूलाई सम्हालेपछि रोबिनले फेरि नयाँ सुरुवात गर्ने निर्णय गरे । यसपटक उनले आफ्नै पुरानो सपना पछ्याए—रेस्टुरेन्ट व्यवसाय।
उनले पहिलो रेस्टुरेन्ट आकासाकीमा खोले । व्यवसाय राम्रो चल्न थाल्यो । विस्तारै उनले अर्को रेस्टुरेन्ट खोले, अनि अर्को।
आज जापानका विभिन्न शहरमा उनका २७ वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । ती रेस्टुरेन्टमा करिब १६० जना कर्मचारी काम गर्छन् — जसमध्ये ९० प्रतिशत नेपाली छन्।
जापानमा व्यवसाय विस्तार गर्दै रोबिनले आफ्नो मातृभूमि नेपाललाई पनि बिर्सिएका छैनन् । उनले नेपालमा जलविद्युत, होटल र रियलस्टेट क्षेत्रमा पनि लगानी सुरु गरेका छन्।
रोबिन जापानमा सफल व्यवसायी भए पनि समाजसेवामा उतिकै सक्रिय छन् । २०२१ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग जोडिएका रोबिन अहिले संघको उपाध्यक्ष समेत हुन्।
प्रवासी नेपालीका समस्यालाई नजिकबाट देखेका रोबिन भन्छन्, “नेतृत्व पदको लागि होइन, समाजका लागि हो । जसले पनि सहयोग पाओस्, मेरो उद्देश्य त्यही हो।”
उनले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । रोबिनका प्रयासले नेपाली समुदायमा विश्वास र सम्मान बढाएको छ। अध्यक्ष भए उनी संघको कामलाई अझ प्रभावकारी र समर्पित दृष्टिकोणबाट अघि बढाउने तयारीमा छन्।

टोकियो : मिनि नेपाल
टोकियोको व्यस्त सडकमा हिँड्दा अचानक नेपाली भाषा सुन्नु तपाईलाई कस्तो अनुभव दिन्छ होला ?
रोबिनका लागि यो अनुभव निकै परिचित जस्तो लाग्छ —उनी लगभग चार दशकअघि जापान पुगेका थिए र त्यतिबेला पनि नेपाली सुन्दा नेपालमै पुगेको महसुस हुन्थ्यो।
“त्यतिबेला घरको खुब न्यास्रो लाग्थ्यो, परिवारको याद धेरै आउँथ्यो । कतै नेपाली देखियो भने नेपाल जस्तो लाग्थ्यो,” उनले सम्झिए।
आजको टोकियो त्यतिबेला जस्तो सुनसान छैन । नेपालीहरु पाइलैपिच्छे भेटिन्छन् । नेपाली ब्रान्डका पसल, नेपाली खाना बेच्ने स्टल—चटपटे, पानीपुरी, मःम, कोदो, फापर, मकैका परिकार—सबै जापानमा सजिलै पाइन्छन् । रोबिन भन्छन्, “यहाँ त नेपालीलाई लक्षित गर्दै भारतीय, बंगाली, नेपालीहरु नै नेपालमा पाइने सबै परिकार बेच्दैछन् ।”
नयाँ पुस्ताका लागि टोकियो केवल जापानको राजधानी मात्र होइन, यो मिनि नेपाल जस्तो छ । नेपाली समुदायले यहाँका चार्ड पर्व, जस्तै दशैँ, तिहार, छठ र नेपाली नयाँ वर्ष, उतिकै धुमधाममा मनाउँछन् । रोबिनले बताए, “जहाँ कार्यक्रम आयोजना हुन्छ, त्यहाँ नेपालकै माहोल छ । हामीलाई लाग्छ, हामी नेपालमै छौं ।”
नेपालमा पाइने जात, धर्म र संस्कृति अनुसारको कपडा पनि अब जापानमा सजिलै उपलब्ध छ । त्यसैले टोकियोमा हिँड्दा नेपाली पहिचान फिर्ता पाउनु सजिलो छ।
तर सबै कुरा सकारात्मक छैन । जापानमा बढ्दो नेपाली संख्यासँगै (सरकारी तथ्यांक अनुसार अहिले २ लाख ३३ हजार छन्) विभिन्न सामाजिक समस्या पनि बढ्दैछन् । रोबिन उदेक व्यक्त गर्दै भन्छन्, “नेपालीबीच झगडा, ठगी, घरेलु हिंसा, यस्ता समस्याको गुनासो हामीसँग हरेक दिन आउँछन् । कतिपयको पारिवारिक कलहले परिवार विखण्डित भएको छ ।”
तर रोबिन र उनको समूह समस्याको समाधानमा जुटिरहेका छन् । “हामी सकेसम्म नेपालीहरुलाई सहयोग गर्छौं, तर कहिलेकाही घटनाले ठूलो रुप लिए पछि मात्र थाहा पाइन्छ,” उनले भने।
टोकियोमा मिनि नेपाल—जहाँ स्वाद, संस्कृति, पर्व र पहिचान जिउँदो छ । तर चुनौती पनि कम छैन।
जापानमा अवसर छ, तर हामीले लिँन सकेनौ
जापान—अवसरको देश । तर रोबिन भन्छन्, धेरै नेपालीले यहाँको अवसरलाई सदुपयोग गर्न सकेका छैनन् । जापानमा काम गर्ने उमेर समूह कम छ, त्यसैले आप्रवासी श्रमिकको आवश्यकता धेरै छ । सरकारले श्रमिक अभाव पूर्ति गर्न भिसा प्रक्रिया सहज बनाएको छ।
तर रोबिनले देखेका छन् कि भाषा र सीप बिना जापान पुग्ने धेरै नेपालीले अवसर गुमाएका छन् । भाषा र सीप भएकालाई काम सजिलै मिल्छ र आम्दानी पनि राम्रो हुन्छ । तर जापान महँगो मुलुक हो । हरेक खर्च व्यवस्थापन गर्न नसक्दा कतिपय विद्यार्थी मानसिक तनावमा पर्छन् । रोबिनले बताए, “जापानको संस्कृति बुझ्नै पर्छ । संस्कृति नबुझ्दा मानिस मानसिक रुपमा कमजोर बन्न पुग्छन्।”
उनले मुख्य दोष नेपालमै देख्छन् । जापान पठाउने कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूले पैसालाई प्राथमिकता दिँदा भाषा, सीप, र संस्कृति सिकाइरहन छाडेको उनको भनाइ छ। व्यवसायीले मात्र पैसा कमाउने सोच राख्दा धेरै नेपाली समस्यामा पर्छन्।
यद्यपि सकारात्मक पक्ष पनि छ । नेपाली काममा लगनशील छन् र जापानीसँग टोन पनि सजिलै मिल्छ । जापानी वाक्य संरचना बुझ्न सजिलो भएको कारण दक्ष कामदार नेपालीलाई जापानमा रुचाइन्छ । दक्ष कामदारलाई समस्या कम हुन्छ, तर विभिन्न भिसामा आएर काम गर्नेले चुनौती सामना गर्नुपर्छ।
रोबिनको अनुभवले देखाउँछ कि जापान अवसरको देश हो, तर त्यहाँ सफल हुन भाषा, सीप, र संस्कृति बुझेर जानु अनिवार्य छ । सही तयारी नगरी आइपुगेका नेपालीले अवसर गुमाउँछन् र समस्यामा पर्छन्।

जापानिज लगानी : नेपाललाई अवसरको गन्तव्य बनाउने बाटो
जापानिज व्यवसायीहरू नेपालमा लगानी गर्न इच्छुक छन् । तर रोबिन भन्छन्, नेपालको लगानी नीति र प्रक्रिया प्राय ः जटिल हुँदा उनीहरू हिचकिचाउँछन् । “नेपालले जापानी लगानीकर्तालाई आकर्षित गर्न चाहन्छ भने लगानीको वातावरण सुधार्नैपर्छ,” रोबिनको सुझाव छ।
उनी भन्छन्, “व्यापार सुरु गर्नका लागि आवश्यक कानूनी र कागजी प्रक्रिया पारदर्शी र सरल बनाइयो भने जापानी कम्पनीहरू सजिलै नेपालमा आउन सक्छन् । जापानमा कम्पनी दर्ता गर्दा एकै दिनमा सबै प्रक्रिया पूरा हुन्छ । कर्जा लिनु होस् वा दर्ता गर्नु, सरकारले सहयोग गर्छ । व्यवसायीलाई विभिन्न अनुदान पनि दिइन्छ । नेपालमा यस्ता सहजता छैन ।”
सरकारले व्यापार सम्बन्धी नीति द्रुत र प्रभावकारी बनाउनुपर्छ, जसले समय र श्रम बचत गर्छ । कर नीति पनि लचिलो हुनु जरूरी छ । कर छुट, कर लाभ, र अन्य प्रोत्साहनले जापानी लगानीकर्ताको दीर्घकालीन लगानी सुनिश्चित गर्न सक्छ । साथै, द्विपक्षीय लगानी संरक्षण सम्झौताले उनीहरूलाई सुरक्षा र विश्वासको वातावरण दिन्छ।
रोबिन सार्वजनिक–निजी साझेदारी मोडेललाई पनि जोड दिन्छन् । यसले जापानी कम्पनीहरूलाई नेपालका पूर्वाधार, जलविद्युत, यातायात, र सूचना प्रविधि परियोजनामा लगानी गर्न आकर्षित गर्न सक्छ । जापानका प्रविधि र विशेषज्ञताको सहायताले नेपाल आधुनिक उत्पादन र सेवा केन्द्रको रूपमा अघि बढ्न सक्छ।
नेपालमा सस्तो र योग्य श्रम शक्ति पनि जापानी लगानीलाई प्रोत्साहन दिने मुख्य कारण हो । यसले नेपाललाई उत्पादन केन्द्रको रूपमा स्थापित गर्न सक्ने सम्भावना छ । साथै, यातायात, सडक, र हवाईअड्डा सुधारमा जापानी सहयोग लिन सकिन्छ, जसले लगानीको वातावरण अझ आकर्षक बनाउँछ।
रोबिनको निष्कर्ष स्पष्ट छ, नेपालले जापानी लगानी आकर्षित गर्न पारदर्शी नीति, संरचना सुधार, कर प्रोत्साहन र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नुपर्छ । सही तयारी र वातावरण सिर्जना गरे नेपाललाई जापानी व्यवसायका लागि गन्तव्य बनाउने अवसर खुल्छ।

मुना कुँवर