शीर्षकहरू

७ महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब, कुमारी बैंकको लोभलाग्दो वृद्धि

७ महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब, कुमारी बैंकको लोभलाग्दो वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको माघ मसान्तसम्म २० वाणिज्य बैंकको नाफा ३८ अर्ब १ करोड रुपैयाँ रहेको छ । 

गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ३६ अर्ब ६ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा नाफा ५.४० प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा १० वटा बैंकको नाफा घटेको छ भने १० वटाको नाफा बढेको छ । नाफा धेरै वृद्धि गर्नेमा कुमारी बैंक र नाफा धेरै कमाउनेमा नबिल बैंक अगाडि रहेको तथ्यांकले देखाउँछ । 

कुन बैंकको नाफा कति ? 

नबिल बैंकले यस अवधिमा ५ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाउँदा ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड, कुमारी बैंकले ३ अर्ब १७ करोड, एभरेष्ट बैंकले २ अर्ब ५० करोड, प्राइम कमर्र्सियल बैंकले २ अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड र एनएमबी बैंकले २ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १ अर्ब ८५ करोड, सानिमा बैंकले १ अर्ब ७३ करोड र सिद्धार्थ बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

१० बैंकको नाफा बढ्यो 

यस अवधिमा १० बैंकको नाफा वृद्धि भएको छ । जसमध्ये कुमारी बैंकको लोभलाग्दो वृद्धि देखिएको छ । गत आवको तुलनामा चालु आवको ७ महिनामा कुमारीको नाफा ३२९.८५ प्रतिशतले बढेको छ । गत आवको माघमसान्तसम्म कुमारीको नाफा ७३ करोड ८६ लाख थियो भने चालु आवको सोही अवधिमा ३ अर्ब १७ करोड पुगेको छ । 

गत वर्ष धेरै नाफा कमाउने बैंकको सूचीको अन्तिम सेकेन्ड लास्ट नम्बरमा रहेको कुमारी बैंक चालु आवको माघ मसान्तसम्म सूचीको तेस्रो नम्बरमा उक्लिएको छ । 

यस्तै, सिद्धार्थको नाफा ९९.५७ प्रतिशतले बढ्दा राष्ट्रिय वाणिज्यको ५२.४६, नबिलको ३४, माछापुच्छ्रे बैंकको २८.६३, सानिमाको २६, नेपाल एसआईबी बैंकको १०.६०, प्राइम कमर्सियलको ९.८१, कृषि विकास बैंकको ७.५० र ग्लोबल आइएमईको ६.६२ प्रतिशतले वृद्धि भएको छ ।​​​​​​​

​​​​​​​null