शीर्षकहरू

चीनमा कारको व्यापारमा भारी गिरावट, निर्यात भने ५८ प्रतिशतले बढ्यो

चीनमा कारको व्यापारमा भारी गिरावट, निर्यात भने ५८ प्रतिशतले बढ्यो

बेइजिङ्ग । चीनमा अटोमोबाइल्सको बिक्री ह्वात्तै घटेको छ । २०२६ को फेब्रुअरी महिनामा पछिल्लो दुई वर्ष यताकै सबैभन्दा ठूलो गिरावट देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बनाएका छन् । 

चाइना एसोशिएशन अफ अटोमोबाइल मेनुफ्याक्चररका अनुसार चीनको घरेलु बजारमा अटोमाइलको बिक्री १५.४ प्रतिशतले घटेको छ । फेब्रुअरीमा प्यासेन्जर कारको बिक्री ३४ प्रतिशतले घटेर करिब ९ लाख ५० हजार युनिटमा झरेको छ ।

खासगरी, फेब्रुअरीमा महिनामा चीनको नयाँ वर्ष परेकाले पनि व्यापार घटेको जनाइएको छ । नयाँ वर्षमा धेरै दिन बिदा भएकाले व्यापारमा गिरावट आएको उत्पादकहरुले बताएपनि विश्लेषकहरुको भने यसका पछाडि अन्य कारणहरु पनि रहेको उल्लेख गरेका छन् । 

धेरै क्षेत्रमा ट्रेड-इन प्रोत्साहन घटाइएका कारणले पनि अटोमोबाइल्सको घरेलु माग घटेको विश्लेषकहरुले बताएका छन् । हाइब्रिड कारको बिक्री जनवरी र फेब्रुअरी दुवै महिनामा ३० प्रतिशतले घटेको छ। 

निर्यातले दियो राहत

चिनिया अटोमोबाइल्सको निर्यात भने ५८ प्रतिशतले वृद्धि भएको छ । फेब्रुअरीमा चिनिया अटोम करिब ५ लाख ९० हजार युनिट निर्यात भएको हो । तर, निर्यातमा देखिएको यो वृद्धिले घरेलु बजारको गिरावटलाई कभर गर्न नसक्ने त्यहाँका उत्पादकहरु बताउँछन् ।

उद्योगको अवस्था

चिनिया अटोमोबाइल्स उद्योगको उत्पादन क्षमता उच्च छ। डिलरहरूमा स्टक बढी छ, र निर्माताहरूले बारम्बार मूल्य कटौती गरेका छन्। यो रणनीतिले कार बिक्रीमा वृद्धि आएपनि नाफा भने घट्ने आकलन गरिएको छ ।

कम्पनीहरूमा फरक परिणाम देखिएको छ। केहीले स्थानीय बिक्रीमा ठूलो गिरावट भोगेका छन्, तर अन्यले नयाँ मोडल र विदेशी बजार विस्तारबाट लाभ उठाएका छन्। 

निर्यातमा ठूलो जोखिम

तर निर्यातमा ठूलो जोखिम देखिएको छ । मध्यपूर्वमा भएको युद्धले निर्यातमा खतरा बनाएको छ। मध्यपूर्व चीनको निर्यातको करिब २० प्रतिशत हिस्सा हो। लामो समयको संघर्ष र त्यसले ल्याउने ढुवानी, आपूर्ति श्रृंखला र ग्राहक मनोवृत्तिमा असरले निर्यातमा बाधा पुर्‍याउने अनुमान गरिएको छ ।