काठमाडौँ। नेपाल आयल निगम ले एलपी ग्यासको आपूर्ति र वितरण व्यवस्थापन गर्न अस्थायी व्यवस्था लागू गरेको छ।
निगमले हालको परिस्थितिलाई ध्यानमा राख्दै २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ग्यास उद्योगहरूले सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बजारमा बिक्री गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।
निगमका अनुसार यस कदमले ग्यासको उपलब्धता सहज बनाउने र आम उपभोक्ताले मागअनुसार ग्यास पाउने अवस्था सिर्जना गर्ने लक्ष्य राखिएको छ।
निगमले देशभरका ग्यास उद्योगहरूलाई आफ्ना उद्योगबाट विक्रेतालाई बिक्री गरिएको ग्यासको परिमाण, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण प्रत्येक दिन बिहान १० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन पनि आग्रह गरेको छ। साथै, विक्रेताहरूले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नम्बर र परिमाणसहितको अभिलेख राखेर उद्योगमार्फत दैनिक निगमलाई जानकारी दिन भनिएको छ।
निगमले ग्यास उद्योगी तथा विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकता दिई ग्यास बिक्री–वितरण गर्न अनुरोध गरेको छ।
हाल मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा असर परे पनि निगमले नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आयात गरी बिक्री–वितरणको व्यवस्था मिलाइरहेको जनाएको छ।
निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पनि आग्रह गरेको छ।
आर्थिकन्यूज