शीर्षकहरू

औषधि कम्पनी कस्तुरी फर्मास्युटिकल्सले १६ करोडको आईपीओ ल्याउने

बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

औषधि कम्पनी कस्तुरी फर्मास्युटिकल्सले १६ करोडको आईपीओ ल्याउने

काठमाडौँ। पूर्वी तराईमा स्थापित औषधि उद्योग कस्तुरी फार्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले चैत मसान्तभित्र १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको जनाएको छ।

झण्डै १ बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको उद्योगले विगत १३ वर्षदेखि औषधि उत्पादन गर्दै आएको छ। कम्पनीका औषधि देशभरका विभिन्न बिक्री डिपोमार्फत बजारमा आपूर्ति हुँदै आएका छन्।

कम्पनीले डब्लुएचओ–जीएमपी  र आईएसओ ९००१ प्रमाणपत्र प्राप्त गरेको छ। हाल कम्पनीले १८० भन्दा बढी प्रकारका औषधि उत्पादनको अनुमति पाएको छ भने १२५ भन्दा बढी औषधि बजारमा बिक्री भइरहेको जनाएको छ।

कम्पनीका कार्यकारी अध्यक्ष प्रवेक खनाल र प्रबन्ध निर्देशक इश्वर भण्डारी औषधि उद्योग क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका व्यवसायी हुन्।

हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ। संस्थापक समूहमा १४ करोड रुपैयाँ थप सेयर जारी गरिसकेपछि सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको आईपीओ ल्याइनेछ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

आईपीओ निष्कासनका लागि रिलायबल क्यापिटल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालबाट ‘डबल बी माइनस’ रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको वित्तीय अवस्था सन्तोषजनक रहेको संकेत गर्छ।

कम्पनीले विगतमा लिएको अधिकांश कर्जा चुक्ता गरिसकेको छ। हाल कम्पनीमा करिब २४ करोड रुपैयाँ कर्जा बाँकी रहेको छ। विगतका वर्षहरूमा नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्दै आएको कम्पनीले आगामी दिनमा पनि लाभांश दिने लक्ष्य राखेको जनाएको छ।

कम्पनीको चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ६३ पैसा रहेको छ। आईपीओ निष्कासनका लागि आवश्यक न्यूनतम वास्तविक नेटवर्थ ९२ रुपैयाँ ५ पैसा रहेको कम्पनीले जनाएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म वास्तविक नेटवर्थ ११२ रुपैयाँ ८१ पैसा पुग्ने अनुमान गरिएको छ।

आईपीओ निष्कासनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेकाले नयाँ सेयरधनी भित्र्याउने तयारीमा कम्पनी रहेको कार्यकारी अध्यक्ष खनालले बताए।