शीर्षकहरू

युद्धबीच ९२ हजार ७ सय टन एलपीजी बोकेका दुई जहाज भारततर्फ

युद्धबीच ९२ हजार ७ सय टन एलपीजी बोकेका दुई जहाज भारततर्फ

एजेन्सी । अमेरिका–इजराइल र ईरानबीच जारी युद्ध आज १५औँ दिनमा पुगेको छ। खाडी मुलुकबाट एलपीजी बोकेर भारततर्फ आउँदै गरेका दुई भारतीय जहाज सुरक्षित रूपमा होर्मुज जलडमरू पार गरेका छन्। ईरानले एक दिनअघि ती जहाजलाई उक्त मार्ग प्रयोग गर्न अनुमति दिएको थियो र अहिले ती जहाज भारतको पश्चिमी तटतर्फ अघि बढिरहेका छन्।

भारतीय नौवहन तथा जलमार्ग मन्त्रालयका विशेष सचिव राजेश कुमार सिन्हाका अनुसार भारतीय झण्डा बोकेका एलपीजी बोक्ने जहाज ‘शिवालिक’ र ‘नन्दा देवी’ ले शनिबार होर्मुज जलडमरू पार गरेका हुन्। ती दुई जहाजले कुल ९२ हजार ७ सय टन एलपीजी बोकेर भारततर्फ यात्रा गरिरहेका छन्।

अधिकारीहरूका अनुसार दुवै जहाज गुजरातस्थित मुन्द्रा र कांडला बन्दरगाहतर्फ जाँदै छन्। ती जहाज आगामी दुईदेखि तीन दिनभित्र भारत पुग्ने सम्भावना रहेको बताइएको छ।

यी जहाजहरू मध्यपूर्वमा युद्ध सुरु भएपछि होर्मुज जलडमरूको पश्चिमी क्षेत्रमा फसेका २४ जहाजमध्येका दुई जहाज हुन्। युद्धका कारण समुद्री मार्ग असुरक्षित बनेपछि ती जहाजहरू केही समय त्यही क्षेत्रमा रोकिएका थिए।

यसअघि भारतका लागि ईरानका राजदूत मोहम्मद फतहालीले शुक्रबार ईरानले धेरै भारतीय जहाजलाई उक्त जलमार्ग प्रयोग गर्न अनुमति दिएको बताएका थिए। तर उनले कति जहाजलाई अनुमति दिइएको हो भन्नेबारे भने खुलाएका थिएनन्।