शीर्षकहरू

सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि खुल्ने

सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि खुल्ने

काठमाडौँ। सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिनेछ।

स्थानीयका लागि छुट्याइएको सेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित बुंगल नगरपालिका–१, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिका–३, ५, ६, ७, ९, १० र ११ का बासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ।

त्यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ५ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयका लागि आवेदन दिने म्याद छिटोमा चैत २२ गतेसम्म रहनेछ भने ढिलोमा वैशाख ७ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने म्याद छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म तोकिएको छ।

कम्पनीले गराएको रेटिङअनुसार इक्रा नेपालले सानिगाड हाइड्रोलाई ‘डबल बी माइनस’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

सानिगाड हाइड्रोले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि २५ वर्ष ३ महिना बाँकी रहेको कम्पनीले जनाएको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष तथा छुट दरमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकको बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै बुंगलस्थित पावरहाउस कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।