शीर्षकहरू

चुनावी माहोलले फागुनमा सुस्तायो घरजग्गा कारोबार, दुईतिहाइको सरकार बनेपछि बूम हुने आशा

चुनावी माहोलले फागुनमा सुस्तायो घरजग्गा कारोबार, दुईतिहाइको सरकार बनेपछि बूम हुने आशा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा घरजग्गाकाे काराेबारमा गिरावट आएकाे छ । माघ महिनाकाे तुलनामा फागुनमा घरजग्गाकाे काराेबार र त्यसबाट संकलन हुने राजस्वमा भारी गिरावट आएकाे  भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएकाे छ ।

विभागका अनुसार माघ १ लाख ९३ हजार ९२० पटक घरजग्गाको कारोबार भएको थियाे भने फाुगनमा १ लाख ११ हजार ४९४ पटक काराेबार भएकाे छ । अर्थात् फागुनमा ४२.५० प्रतिशतले काराेबार घटेकाे छ । यस्तै, २०८१ काे फागुनकाे तुलनामा पनि २०८२ काे फागुनमा घरजग्गाकाे काराेबार घटेकाे देखिन्छ । 

काराेबार घटेसँगै यसबाट संकलन हुने राजस्वमा पनि गिरावट देखिएकाे छ । माघ महिनामा ५ अर्ब १ कराेड रूपैयाँ राजस्व संकलन भएकाेमा फागुन महिनामा ४ अर्ब १४ कराेड रूपैयाँ मात्रै राजस्व संकलन भएकाे छ । अर्थात माघकाे तुलनामा फागुनमा १७.३६ प्रतिशतले राजस्व घटेकाे छ । यता, गत वर्षकाे फागुनकाे तुलनामा यस वर्षकाे फागुनमा भने राजस्व केही वृद्धि भएकाे देखिन्छ ।

चालु आर्थिक वर्षका केही सुरूवाटी केही महिनाहरूमा गत वर्षको तुलनामा घरजग्गाको कारोबार तथा कित्ताकाट लगातार घटिरहेको थियो । तर, मंसिर महिनादेखि कारोबारमा एक्कासि सुधार देखिएकाे थियाे । 

सरकारले कित्ताकाट खुलाएका कारण मंसिर, पाैष, माघ महिनामा घरजग्गाकाे काराेबारमा उछाल देखिएपनि फागुनमा सुस्त बनेकाे हाे ।

सरकारले २०८२ को असार मसान्तदेखि कित्ताकाट रोक्का भएको थियो । जसले यस क्षेत्रको कारोबारसँगै सरकारको राजस्वमा नै धक्का लाग्यो । तर, रोकिएको कित्ताकाट २०८२ कार्तिक महिनाको अन्तिम सातामा सरकारले खुलाइदियो । अर्थात् आगामी असार मसान्तसम्मका लागि कित्ताकाट गर्न पाइने व्यवस्था सरकारले गरिदिएको थियाे । यसले गर्दा अझै ६ महिनासम्म कित्ताकाट गर्न पाइन्छ । यो अवधिमा घरजग्गाको कारोबार उच्च हुने आशा व्यवसायीहरूमा गरेका थिए । तर, फागुनकाे काराेबारले व्यवसायीकाे उक्त आशा ठेस लागेकाे छ।  

फागुनमा किन घट्याे काराेबार ? 

फागुनमा काराेबार सुस्ताउनुकाे एकमात्र कारण रहेकाे यस क्षेत्रका व्यवसायीहरू बताउँछन् । चुनावका कारण फागुनमा रियलस्टेटकाे काराेबार सुस्ताएकाे नेपाल रियलस्टेट अर्गनायजेशनका महासचिव विनाेद सुवेदी बताउँछन् । 

उनका अनुसार फागुनमा मानिसहरू चुनावमा व्यस्त भए, पार्टीका मान्छेहरू प्रचार प्रसारमा नै लागि परेका कारण याे महिना काराेबार कम भएकाे हाे । यस्तै, चुनावकाे माहाेलले गर्दा सरकारी कार्यालय पनि अन्य महिनाकाे तुलनामा कम खुल्याे । 

यसका साथै, घरजग्गा किन बेच गर्ने मानिसहरूले पनि चुनाव पछि बेच्ने र किन्ने साेच बनाएका कारण याे महिनामा काराेबार घटेकाे महासचिव सुवेदिकाे भनाइ छ । 


नयाँ सरकार आएपछि घरजग्गाको कारोबारमा कस्तो असर पर्छ ? 

महासचिव सुवेदीको अनुसार आगामी दिनमा घरजग्गाको कारोबारले ऐतिहासिक रेकर्ड राख्नेछ । करिब दुई तिहाईको नयाँ सरकार बन्दै छ । यसले आम जनमानसमा कन्फिडेन्स दिएको छ ।

त्यसको रिफ्ल्याक्सन शेयर बजारमा देखिन सुरु भएको छ । अब रियलस्टेटमा पनि देखिने उनको भनाई छ । उनले भने, 'घरजग्गाको कारोबार बढ्नु भनेको देशको अर्थतन्त्र पनि बढ्नु हो । कारोबार जति बढ्यो राजस्व सोही अनुसार बढ्छ । त्यतिमात्रै हैन, घरजग्गा चलायमान हुँदा समग्र अर्थतन्त्र चलायमान हुन्छ । नयाँ सरकारले यो कुरा बुझेको छ ।’

यस्तै, बैंकको ब्याजदर पनि निरन्तर घटिरहेको छ । यसले पनि कारोबारमा सपोर्ट गर्दछ ।