काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य बढेको छ। अघिल्लो कारोबार दिन करिब २४ अंकले बढेको बजार यस दिन ४.४५ अंकले उकालो लागेको हो।
आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.४१ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१८ अंकले वृद्धि भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूह सर्वाधिक २.८३ प्रतिशतले बढेको छ। यद्यपि होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।
परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस दिन ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर १ लाख २४ हजार ४९० पटकको कारोबारबाट खरिदबिक्री भएका छन्।
कारोबारका क्रममा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै होटल फरेष्ट इनको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ। यता दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८१ करोड १ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै रिडी पावर कम्पनीको करिब ६८ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको करिब साढे ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आर्थिकन्यूज