काठमाडौं।माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित रचनात्मक अवार्ड समारोह स्पाइक्स एसियामा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्जसहित कुल ४ अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय रचनात्मक मञ्चमा नेपाली अभियानले यस्तो सफलता हासिल गर्नु ऐतिहासिक मानिएको छ।
‘पिक्स अफ करेज’ अभियान सगरमाथाभन्दा बाहिर रहेका नेपालको समृद्ध पर्वतारोहण विरासतलाई विश्वसामु चिनाउने उद्देश्यले सञ्चालन गरिएको थियो। यस अभियानले कम चर्चामा रहेका हिमालहरू र तिनसँग जोडिएका साहसका प्रेरणादायी कथाहरूलाई उजागर गरेको थियो।
कथावाचन, डिजिटल संलग्नता तथा इमर्सिभ ब्रान्ड अनुभवको संयोजनमार्फत अभियानले नेपालको हिमाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।
अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’ का रूपमा डिजिटल इन संलग्न भएको थियो। नेपालमा अभियानको प्रभावकारी कार्यान्वयन तथा दर्शकसँगको संलग्नता विस्तार गर्न कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। डिजिटल इनले शेर्पा समुदायका अनुभवी व्यक्तित्वहरूसँग समन्वय गर्दै अभियानलाई थप प्रमाणिक र भावनात्मक रूपमा सशक्त बनाएको बताइएको छ।
यस सफलताबारे डिजिटल इनका संस्थापक तथा कार्यकारी निर्देशक उमङ्ग शाक्यले यो उपलब्धि केवल एउटा अभियानको सफलता नभई समग्र नेपाली रचनात्मक उद्योगका लागि पनि गौरवको क्षण भएको बताए। उनका अनुसार स्पाइक्स एसियाजस्तो प्रतिष्ठित मञ्चमा नेपाली अभियानले यस्तो मान्यता पाउनु विज्ञापन क्षेत्रका लागि महत्वपूर्ण कोसेढुंगा बनेको छ।
यस उपलब्धिले नेपाली विज्ञापन तथा रचनात्मक क्षेत्रमा नयाँ आयाम थपेको तथा स्थानीय संस्कृति र मौलिक पहिचानमा आधारित कथाहरूले विश्वस्तरमा पनि सम्मान पाउन सक्छन् भन्ने तथ्य पुष्टि गरेको बताइएको छ।
अभियानले प्राप्त गरेका अवार्डहरू:
ग्रान्ड प्रिक्स — एक्टिभेसन
सिल्भर — इनोभेसन
ब्रोन्ज — क्रिएटिभ डेटा
ब्रोन्ज — ब्रान्ड एक्सपिरियन्स
आर्थिकन्यूज