शीर्षकहरू

राजस्व अनुसन्धानका पूर्व डीजीविरुद्ध भ्रष्टाचार मुद्दा, ७० लाख घुस जग्गामा लगानी

राजस्व अनुसन्धानका पूर्व डीजीविरुद्ध भ्रष्टाचार मुद्दा, ७० लाख घुस जग्गामा लगानी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारी विरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले अधिकारीसँगै अन्य दुई जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगका अनुसार अधिकारीले एच.के. इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट राजस्व चुहावटसम्बन्धी अनुसन्धान तथा सम्भावित कारबाहीबाट जोगाइदिने तथा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारकाे ठहर छ। उक्त रकम विभिन्न व्यक्तिहरूको बैंक खातामार्फत घुमाएर प्रयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगका अनुसार अनुसन्धानका क्रममा २०७९ वैशाख २४ गते विभिन्न व्यक्तिको नाममा तीन वटा चेक काटेर २० लाख रुपैयाँ निकासा गरिएको पाइएको छ। उक्त रकम देवेन्द्र केसी सँग सम्बन्धित खातामा जम्मा गराई द कुटी रिसोर्ट प्रालिको कर्जा भुक्तानीमा प्रयोग गरिएको आरोप छ। आयोगका अनुसार यसरी घुसको रकमलाई बैंक खातामार्फत विभिन्न चरणमा सारेर वैध जस्तो देखाउने प्रयास गरिएको थियो।

यसैगरी २०७९ असोजतिर थप ५० लाख रुपैयाँको चेक पनि जारी गरी उक्त रकम विकास कुमार चापागाईं को खातामा जम्मा गरिएको र पछि त्यसै रकमलाई प्रयोग गरी रविन्द्र लामिछानेको नाममा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१७ स्थित जग्गा खरिद गरिएको आयोगले जनाएको छ। उक्त जग्गाको कुल मूल्य करिब २ करोड ३७ लाख रुपैयाँ रहेको र घुसबाट प्राप्त रकम त्यसको भुक्तानीमा प्रयोग गरिएको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ।

आयोगका अनुसार घुसबाट प्राप्त रकमलाई विभिन्न बैंक खातामार्फत घुमाएर कर्जा भुक्तानी र जग्गा खरिदमा प्रयोग गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरिएको देखिएको छ। यसरी अवैध रूपमा प्राप्त रकमको स्रोत लुकाउने उद्देश्यले विभिन्न आर्थिक कारोबार गरिएको निष्कर्ष आयोगले निकालेको छ।

यस प्रकरणमा अधिकारीसहित देवेन्द्र केसी र रविन्द्र लामिछाने विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवानाको माग गरिएको छ। साथै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत पनि थप कारबाही र बिगो असुलीको मागदाबी गरिएको आयोगले जनाएको छ।

आयोगले घुसबाट प्राप्त ७० लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरी कानुनअनुसार सजाय हुनुपर्ने मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।