काठमाडौं । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालका हिम नदी बेसिन क्षेत्रमा हिमताल विस्फोटनजन्य बाढी तथा बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्र संघीय विकास कार्यक्रममार्फत प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, सरकारले युद्ध प्रभावित पश्चिम एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपालीको तत्काल राहत तथा उद्दार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावास रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, म्यानमा, मस्कट, इस्लामाबाद, कायरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावास जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
गत २३ र २४ भदौमा भएको जेन-जी विद्रोहमा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद् बैठकले ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
आर्थिकन्यूज