काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १० रुपैयाँ बढाएको हो।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। यसअघि पेट्रोलको मूल्य १५७ रुपैयाँ र डिजेलको १४२ रुपैयाँ प्रतिलिटर थियो।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट उच्च दरमा नयाँ मूल्यसूची प्राप्त भएको थियो। तर कर्पोरेशनले पठाएको दर पूर्ण रूपमा लागू नगरी उपभोक्तामा कम असर पर्ने गरी मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।
भारतबाट पेट्रोल ३१ रुपैयाँ, डिजेल र मट्टितेल ५४ रुपैयाँ तथा एलपी ग्यास २१६ रुपैयाँले बढेर आए पनि निगमले मूल्य स्थिरीकरण कोष र अघिल्लो नाफाबाट केही भार व्यहोर्दै सीमित मात्रामा मूल्य बढाएको जनाएको छ।
पश्चिम एसियामा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको र त्यसको प्रभाव नेपालमा परेको निगमको भनाइ छ।
हालको मूल्य समायोजनपछि पनि निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा तत्कालै मूल्य घटाउने रणनीति लिने पनि जनाएको छ।
आर्थिकन्यूज